भैरहवा मेलामा स्थानीय उत्पादनको प्रवर्द्धन

भैरहवा । भैरहवावासीले मुस्ताङको उत्पादन भैरहवामै पाएका छन् । मुस्ताङका तरकारी तथा फलफूलबाट तयार पारिएका सामग्री भैरहवमामै बिक्री भइरहेका छन् ।
शुक्रबारदेखि सुरु भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवमा मुस्ताङको उत्पादन पनि बिक्रीका लागि राखिएको छ । मुस्ताङकै तरकारी र फलफूल प्रशोधन स्याउको सुकुटी, जाम, क्यान्डी, आलु चिप्स, खुर्पानीको जाम, सुकुटी जस्ता विभिन्न उत्पादनहरु बिक्रीका लागि राखिएका छन् ।
भैरहवा मेलामा मार्फा फलफूल तथा तरकारी उद्योगको स्टल रहेको छ । स्टल सञ्चालक घरपझोङ्ग–२ मार्फाका शङ्करलाल विश्वकर्माले सुरुकै दिनदेखि दर्शकको राम्रो प्रतिक्रिया पाएको बताए । ‘भैरहवामा पहिलो पटक मुस्ताङको उत्पादन लिएर आएको छु’, विश्वकर्माले भने, ‘पहिलो दिनमै ६ हजार बढीको बिक्री भएको छ ।’
कोभिडका कारण लामो समयदेखि बाहिर व्यापार गर्न नपाएका उहाले भैरहवा मेलाले उत्साह जागेको बताए । उनले मेला अवधिमा रु एक लाख बराबरको कारोबार गर्ने लक्ष्य रहेको बताए । उनकाे स्टलमा मार्फाको ब्रान्डी, रातो मुरली मकै, जिम्मु, जाम, छोप, स्याउ जस्ता उत्पादन रहेको छ ।
मेलामा रोल्पा सुनछहारीका जसमन बिष्ट क्षेत्री र जितबहादुर बिटालुले जाँतो लिएर आउनुभएको छ । पुख्र्याैली पेसा यहि रहेको उहाहरुले आफूसंग जातो र सिलौटा बिक्रीका लागि राखिएको बताए । स्थानीय डुडे ढुङ्गाबाट तयार पारिएको जाँतो र सिलौटामा पिसिएको मसला, आटा, दाललगायत स्वादिष्ट एवम् रसिलो हुने दाबी गर्छन् । दुई सय ५० स्टल राखिएको आठाैँ लुम्बिनी राष्ट्रिय महोत्सवमा स्थानीय उत्पादनहरुलाइ प्रवद्र्धन हुने उद्योगलाइ प्राथमिकता दिएको मेला मूल आयोजक समितिका संयोजक भीष्म न्यौपानेले बताए ।
मेलामा स्वदेशी, गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानहरुबीच तुलनात्मक मूल्यबारे उपभोक्ताहरुलाई जानकारी दिने उद्देश्य रहेको उनले बताए ।
सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले वर्तमान आर्थिक तरलता अवस्थामा आर्थिक गतिविधि बढाउने पनि मेलाको उद्देश्य रहेको बताए । कोभिडका कारण शिथिल रहेको स्थानीय व्यापारलाइ मेलाले टेवा दिने उनकाे भनाइ छ ।
मेलामा आउने दर्शकलाई लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रहरुमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था गराइने प्रचारप्रसार समिति संयोजक कृष्णप्रसाद घिमिरेले बताए ।

प्रतिक्रिया