जलवायु संकटको वर्ष-२०२२

काठमाडौं । हो चर्को गर्मी र खडेरी, जङ्गलको भीषण डढेलो , भीषण आँधी र विनाशकारी बाढी – सन् २०२२ को मौसमले यस्ता- यस्ता रङ देखायो कि त्यसलाई बर्णन गर्ने शब्द नै भएन ।
तातो र सुख्खा युरोप : युरोपको गर्मीले ५०० वर्ष यता कै सबैभन्दा तातो ल्यायो। स्पेनको तापक्रम ४५ डिग्रीभन्दा माथि पुग्यो भने तापक्रमका कारण ५०० भन्दा बढीको मृत्यु भयो । यसैगरि बेलायतको तापक्रम पनि ४० डिग्रीभन्दा माथि पुग्यो । युरोपका अधिकांश नदीको पानीमा ठूलो कमी आयो भने धेरै ठाउँका घरमा खानेपानीको कोटा नै तोक्नुपर्यो ।
जङ्गली आगोका कारण युरोप तात्यो : पश्चिममा पोर्चुगल, स्पेन र फ्रान्सदेखि लिएर इटाली, पूर्वमा ग्रीस र साइप्रस तथा उत्तरमा साइबेरियासम्म रातो आगोले युरोपलाई न्यानो बनायो । यसक्रममा वर्षको मध्यसम्ममा करिब ६ लाख ६० हजार हेक्टर जमिन जलेको थियो ।
एसियाको विनाशकारी बाढी : भारी मनसुनी वर्षाका कारण पाकिस्तानको करिब एक तिहाइ भूभाग बाढीले डुबायो । बाढीका कारण ११ सयभन्दा बढीले ज्यान गुमाए भने ३ करोडभन्दा बढी घरबारविहीन भए । यो बाढि सरुवा रोग फैलिने प्रमुख कारण समेत बन्यो । भारी वर्षाले अफगानिस्तानमा पनि ठूलो क्षति पुर्यायो । गरिबीको चपेटामा परेको अफगानिस्तानमा हजारौं हेक्टरमा फैलिएको बाली नष्ट हुनुका साथै भोकमरीको समस्या अझ बढेको छ ।
एशियामा अत्यधिक गर्मी र आँधी : बाढी आउनुअघि अफगानिस्तान, पाकिस्तान तथा भारतले अत्यधिक गर्मी र खडेरीको सामना गर्नुपरेको थियो । यसबीच, चीनले ६० वर्षमा सबैभन्दा खराब खडेरी र रेकर्ड राख्ने काम सुरु गरेदेखिकै सबैभन्दा खराब गर्मीको लहर देखेको छ । शरद ऋतु आउनुअघि नै यहाँ १२ वटा हावाहुरीले आक्रमण गरेको थियो । फिलिपिन्स, जापान, दक्षिण कोरिया तथा बंगलादेशले पनि ठूलो आँधीको सामना गर्नु परेको थियो । जलवायु परिवर्तनले यस्ता आँधीको शक्ति बढाइरहेको छ।
अफ्रिकाको जलवायु संकट : अफ्रिका संसारको अन्य भाग भन्दा बढी र छिटो न्यानो हुँदैछ । वर्षाको यही परिर्वर्तित चक्रका कारण यहाँ खडेरी र गर्मीको समस्या थपिँदै गएको छ । सोमालियाले ४० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । संकटका कारण लाखौं मानिस घरबार छोडेर अन्यत्र जान बाध्य भएका छन् ।
अफ्रिकामा अनिकाल र बिस्थापन : बाढी र गम्भीर खडेरीले अफ्रिकाका धेरै भागमा कृषि तथा पशुपालनलाइ असम्भव बनाएको छ , जसको परिणामस्वरूप लाखौं मानिस आफ्नो पेटभर्न संघर्ष गरिरहेका छन्। इथियोपिया, सोमालिया तथा केन्यामा भोकमरीका कारण धेरैले ज्यान गुमाइसकेका छन् ।
उत्तर अमेरिकाको आगो र बाढी : आगो र आँधीले अमेरिकाको क्यालिफोर्निया , नेभाडा तथा एरिजोनामा ठूलो क्षति पुग्यो । गर्मीको अन्तिम महिनामा ४० डिग्रीभन्दा बढी तापक्रमले मानिसको पसिना बगाएको थियो । त्यसमाथि गर्मीको शुरुमा भारी वर्षाले येलोस्टोन राष्ट्रिय निकुञ्ज अनि केन्टकीमा अचानक बाढी निम्त्यायो।
आँधीको विनाश : सेप्टेम्बरमा इयान आँधीले अमेरिकी राज्य फ्लोरिडामा ठूलो क्षति पुर्यायो । स्थानीय अधिकारीहरूले यसलाई यसको तीव्रताको आधारमा ‘ऐतिहासिक’ भने । यसअघि इयानले क्युबालाई पनि ठुलो समस्यामा पारेको थियो जहाँ मानिसहरूले बिजुली बिना धेरै दिन बिताउनु परेको थियो । ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा ठूलो क्षति पुर्याएपछि फियोना आँधी क्यानाडा पुग्यो । यो अहिलेसम्मकै सबैभन्दा खराब उष्णकटिबंधीय आँधी साबित भयो।
मध्य अमेरिकामा उष्णकटिबंधीय आँधी : मध्य अमेरिका पुग्ने फियोना मात्र उष्णकटिबंधीय आँधी थिएन। अक्टोबरमा, जुलिया आँधीले कोलम्बिया, भेनेजुएला, निकारागुआ, होन्डुरस र एल साल्भाडोरलाई तहसनहस पारेको थियो । विश्वको तापक्रम बढ्दै गएको छ, समुन्द्रको सतहको तापक्रम बढ्दै गएको छ जसले आँधीलाई भयावह बनाएको छ ।
दक्षिण अमेरिकामा गम्भीर खडेरी : निरन्तरको खडेरीले लगभग सम्पूर्ण दक्षिण अमेरिकी महाद्वीपलाई आफ्नो पकडमा राख्यो। उदाहरणका लागी, चिली २००७ देखि वर्षा नहुने चरम समस्याबाट पीडित छ । चिलीका धेरै क्षेत्रका खोलानालाहरु ५० देखि ९० प्रतिशतसम्म सुकिसकेका छन् । मेक्सिको पनि धेरै वर्षदेखि वर्षाका लागि लालायित छ । अर्जेन्टिना, ब्राजिल, उरुग्वे, बोलिभिया, पानामा , इक्वेडर तथा कोलम्बियाका मानिसहरू पनि खडेरीको सामना गरिरहेका छन ।
न्यूजील्याण्ड र अष्ट्रेलिया पानीमा डुबे : भारी वर्षाका कारण, अष्ट्रेलियाका धेरै क्षेत्र २०२२ मा धेरै पटक बाढीको चपेटामा परेका थिए । जनवरी र मार्चको बीचमा, देशको पूर्वी तटमा लगभग एक वर्षमा जर्मनीले प्राप्त गर्ने जति धेरै वर्षा भयो । न्यूजिल्याण्ड पनि बाढीबाट जोगिन सकेन। एलनिना यो चरम मौसमी ढाँचाका लागि जिम्मेवार छ, तर जलवायु परिवर्तनले यसलाई बढाउँदैछ। न्यानो वायुमण्डलले बढी पानी सोस्छ र वर्षालाई भारी बनाउँछ।
प्रतिक्रिया