पक्राउ परे डाक्टर पंकज चौधरी

काठमाडौं । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोप खेपिरहेका डा. पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रीमान्बाट दाइजोको निहुँमा घरेलु हिंसामा परेकी नेहा चौधरी हिजो मंगलबार महोत्तरी रामगोपालपुर-५ स्थित घर गएपनि उनलाई त्यहाँ प्रवेश दिइएन । त्यसपछि उनी घरको मूलढोकाअघि धर्ना दिएर बसिन् । यो बिबादका क्रममा प्रहरीले बाध्य भएर पंकजलाई पक्राउ गरेको बताइएको छ ।
महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार पंकजलाई घरेलु हिंसा र दाइजोविरुद्धको मुद्दामा पक्राउ गरेको हो । पंकजमाथि कानून बमोजिम कारबाही प्रक्रिया थालिने उनले जानकारि दिएका छन ।
महोत्तरीको औरही-१ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर-५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन थालेको नेहाको आरोप छ । पंकज पक्राउ परेपनि उनका परिवारका सबै सदस्य फरार छन् । अहिले उनिहरुको घरको मुख्यद्वारमा ताला लागेको छ ।
नेहा र पंकज तीन वर्षको प्रेम सम्बन्धपछि पारिवारिक सहमतिमा विवाह गरेका थिए । पंकज एमबीबीएस डाक्टर हुन् । उनले जिल्ला अदालत महोत्तरीमा डिभोर्स मुद्दा दर्ता गराएका छन् भने नेहाले पनि श्रीमान बिरुद्ध घरेलु हिंसा तथा दाइजोविरुद्धका दुई वटा मुद्दा दायर गरेकी छिन् ।

प्रतिक्रिया