‘भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई संगठनलाई संस्थागत रुपमा सवल र सक्षम बनाउन प्रहरी कटिवद्ध’

नेपालखोज २०७९ मंसिर २८ गते २०:३४

सिन्धुली । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी संगठनलाई संस्थागत रुपमा सवल र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सधै कटिवद्ध र प्रयासरत् रहेको बताए । वाग्मती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीको परिसरमा नवनिर्मित क्वाटर गार्ड, आन्तरिक प्रशिक्षणालय, प्रशिक्षार्थी ब्यारेक र भान्साघर भवनहरुको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाउटन पश्चात सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताएका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले नव–निर्मित भवनहरूबाट प्राप्त हुने सेवा–सुविधाका कारण प्रशिक्षण वातावरण थप ऊर्जामय हुने विश्वाहस व्यक्त गर्दै यसले प्रशिक्षक र तालिमरत् प्रशिक्षार्थीको तालिम प्रतिको सकारात्मक भावना र उच्च मनोवलको सुनिश्चिवतताको साथै प्रशिक्षण प्रभावकारितामा उल्लेख्य वृद्धि हुने विचार व्यक्त गरे । नव–निर्मित भवनहरु प्रति अपनत्वको भाव राखेर दीर्घकालसम्म उचित संरक्षण र संवर्द्धनमा सहयोग गर्न उपस्थित सबैलाई उहाँले अनुरोध गर्नुभयो ।

व्यावसायिक प्रहरी उत्पादन गर्ने दृष्टिले प्रशिक्षण वातावरण महत्वपूर्ण र संवेदनशील विषय रहेको चर्चा गर्दै उनले भने, ‘अनुशासन, प्रशिक्षण शैली, स्रोतको समुचित प्रयोग आदिका दृष्टिले तालिम केन्द्र नमूना हुन जरुरी छ ।’ प्रहरी महानिरीक्षक सिंहले तालिमलाई कसरी प्रभावकारी र समय–सापेक्ष बनाउन सकिन्छ भन्नेमा समादेशकको टिम केन्द्रित हुनु पर्ने उल्लेख गर्दै तालिम केन्द्रको मापन तालिमको गुणस्तर र त्यसबाट उत्पादित प्रहरी जनशक्तिले कार्यक्षेत्रमा गर्ने प्रदर्शन एवं नागरिकले गर्ने न्यायानुभूतिका आधारमा हुने बताए ।

समयानुकूल र गुणस्तरीय प्रशिक्षण प्रणालीलाई अवलम्बन गरी सकारात्मक परिणाममा केन्द्रित रहन समादेशक र तालिम केन्द्र टिमलाई उनले निर्देशन दिए । सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले नवनिर्मित भवनहरूको निरीक्षण गर्नुका साथै भवन निर्माणमा सहयोग पुर्यानउने प्राविधिक तथा प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै, उहाँले तालिम केन्द्र परिसरमा वृक्षारोपण समेत गरेका थिए ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बाज्राचार्यले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय, भौतिक पूर्वाधार शाखाका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक ईश्वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवनहरू नेपाल प्रहरीको नियमित बजेटबाट कूल ३५ करोड १३ लाख ३३ हजार ४ सय ७० रूपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।

उद्घाटन कार्यक्रममा नेपाली सेना श्री ९ नम्बर बाहिनी अड्डा, माझीटार व्यारेक, सिन्धुलीका प्रमुख सहायक रथी शक्ति जंग बस्नेत, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मसाउद आलम खाँ, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, प्रहरी अधिकृतहरू, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरू, समाजसेवी, संचारकर्मी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया