रेमिट्यान्समा सुधार : चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब

नेपालखोज २०७९ मंसिर २९ गते २१:४५

काठमाडौ । रेमिटेन्समा सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो चार महिनामा रेमिटेन्स अर्थात विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले बढेर तीन खर्ब ७८ अर्ब चार करोड रुपैंयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १० दशमलव आठ प्रतिशतले वृद्धि भई दुई अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह सात दशमलव तीन प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । चालु आवको पछिल्लो चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक सय दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई एक लाख ९५ हजार नौं सय ९६ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६ दशमलव चार प्रतिशतले वृद्धि भई ८७ हजार चार सय २८ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई सय ४९ दशमलव एक प्रतिशतले बढेको थियो । चालु आवको पछिल्लो चार महिनामा खुद ट्रान्सफर २० दशमलव दुई प्रतिशतले वृद्धि भई चार खर्ब १७ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर छ दशमलव नौं प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया