परासी क्षेत्रमा अब भरपर्दो बिजुली उपलब्ध हुने

काठमाडौं । नवलपरासी र आसपासका क्षेत्रमा बिजुली भए पनि गतिलो प्रणाली थिएन । जहिल्यै झ्याप झ्याप जाने समस्याले उपभोक्ता हैरान थिए । बिजुली उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरणलाई स्थानीयवासीले समस्या समाधानका लागि पटकपटक आग्रह गरेका थिए । सोही आग्रह बमोजिम प्राधिकरणले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-७ मा निर्माण गरिएको सुनवल एक सय ३२ केभी सबस्टेसन सञ्चालनमा ल्याएको छ ।
परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग र स्थानीय बासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल एक सय ३२ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ ।
हाल सञ्चालनमा रहेको पूर्व-पश्चिम एक सय ३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही एक सय ३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत् आपूर्ति दिइएको छ । सबस्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा सञ्चालित स्टिल, सिमेन्ट लगायतका उद्योगहरु तथा स्थानीय उपभोक्ताहरुले पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाएका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परासी क्षेत्रका सिमेन्ट, स्टिललगायत ठूला उद्योगहरु र स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड भएको बताए ।
‘अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी लाइनमार्फत आपूर्ति दिँदा सुनवल तथा परासी क्षेत्रका उपभोक्ताले पर्याप्त विद्युत् नपाएको, भोल्टेजको समस्या भएको, पटक-पटक ट्रिपिङ हुनेजस्ता गुनासा आउने गरेका थिए, बुटवल सबस्टेसन पनि माग धान्न नसक्ने अवस्थामा पुगी ओभरलोडेड थियो,’ कार्यकारी निर्देशक घिसिङले भने ।
सुनवल सबस्टेसन सञ्चालनमा आएसँगै बुटवल सबस्टेसनको चाप घटेको छ । सुनवल तथा परासी क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको छ, उपभोक्ताहरुले मागे जति विद्युत् पाउनेछन् भने प्राविधिक चुहावटसमेत घट्ने विश्वास लिइएको छ ।
सबस्टेसनमा १३२/३३, ६३ एमभिएका दुईवटा र १३२/११ केभी, २२.५ एमभिएको एकवटा पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निकालिने ३३ केभीका सातवटा फिडरहरुमध्ये तीनवटा सञ्चालनमा ल्याइएको छ ।
कूल ३३ केभीका तीनवटा फिडरमध्ये एउटाबाट सर्वोत्तम सिमेन्ट तथा परासी बजार क्षेत्र, अर्कोबाट पाल्पा सिमेन्ट तथा रुपन्देहीको शीतलनगर सबस्टेसन र लक्ष्मी स्टिलमा विद्युत् आपूर्ति दिइएको प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलका निर्देशक नवराज ओझाले जानकारी दिए ।
हाल सुनवल सबस्टेसनबाट त्यस क्षेत्रमा करिब २० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । परासीतर्फ जाने बाँकी ३३ केभीका चारवटा र सबस्टेसनको वरिपरि विद्युत् आपूर्तिका लागि ११ केभीका चारवटा फिडरहरु निर्माणाधीन छन् ।
औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत प्राप्त भएको बजेट करिब ६९ करोड रुपैयाँमा सुनवल सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसन निर्माणका लागि इनर्जी प्याक तथा सिग्माकोनको उपक्रमसँग गरिएको ठेक्का सम्झौता २४ कात्तिक २०७६ मा कार्यान्वयनमा आएको थियो ।
प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युत्को बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता वृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल (भूमही) हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढाएको छ ।
प्राधिकरणले भैरहवा क्षेत्रको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन योगीकुटी (बुटवल)बाट मैनहिया सम्मको एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । मैनहिया सबस्टेसनबाट विद्युत् दिन थालेपछि भैरहवा क्षेत्रको क्षेत्रको भोल्टेज सुधार भई आपूर्ति भरपर्दो र गुणस्तरीय भएको छ । -रासस

प्रतिक्रिया