दूरदराजका जनतालाई मानव अधिकारको प्रत्याभूति गराउनुपर्छ : अध्यक्ष मगर

नेपालखोज २०७९ पुष ३ गते २१:१४

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले दूरदराजका जनतालाई मानव अधिकारको प्रत्याभूति गराउनुपर्ने बताएका छन् ।

मानव अधिकार चलचित्र केन्द्रले आज यहाँ आयोजना गरेको ‘१०औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र प्रतियोगिता-२०२२’ को अवसरमा आयोजित कार्यक्रममा उहाँले सीमान्तकृत समुदायलाई मानव अधिकारको सम्बन्धमा शिक्षा प्रदान गर्न आवश्यक रहेको बताए । ‘दूरदराजमा रहेका नागरिकलाई मानव अधिकारको महसुस गराउन आवश्यक छ,’ उनले भने ।

अध्यक्ष मगरले सीमान्तकृत र पिछडिएका समुदायमा मानव अधिकार शिक्षा प्रदान गर्न आवश्यक रहेको बताए । विकट क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले पनि मानवअधिकारको प्रत्याभूति गर्नसके मात्रै मानव अधिकारको संरक्षण हुने उनको भनाइ छ । उनले आयोगले पनि कसरी तल्लोस्तरसम्म नै मानव अधिकारको महसुस गराउने भन्ने बारेमा अध्ययन गर्न जरुरी रहेको बताए ।

सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र प्रतियोगिता’को १०औँ संस्करण आयोजना गरिएको हो । प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया