मंगलबार, असार १७, २०८२

नवनिर्वाचित सांसदहरूको शपथ आज  

नेपालखोज २०७९ पुष ७ गते ६:२७

काठमाडौं । नवनिर्वाचित सांसदहरूलाई शपथग्रहण आज गराइँदै छ । संघीय संसद् सचिवालयले मंसिर ४ को निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आज सपथग्रहण गराउने जनाएकाे हाे ।

नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था छ । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ ।

ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ ग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउनेछन् । शपथ ग्रहणका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एवं हालसालै खिचेको पासपोर्टसाइजको फोटो दुईप्रतिसहित उपस्थित हुन सङ्घीय संसद् सचिवालयले आग्रह गरेको छ ।

राष्ट्रिय पोशाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित भइदिनसमेत सचिवालयले आग्रह गरेको छ । प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्योहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित सङ्घीय संसद् सचिवालयमा उपलब्ध गराउन आग्रह गरिएको छ ।

प्रतिक्रिया