नेपाल राष्ट्रसंघीय शान्ति स्थापना आयोगको सदस्य निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना आयोगको सदस्य निर्वाचित भएको छ। सन् २०२३ को जनवरी महिनादेखि लागू हुने गरी दुई वर्षका लागि नेपाल आयोगको सदस्य निर्वाचित भएको हो ।
संयुक्त राष्ट्रसङ्घ महासभाको ५६औँ पूर्ण बैठकका क्रममा भएको निर्वाचनमा नेपाल नयाँ कार्यकालका लागि आयोगको सदस्यमा निर्वाचित भएको हो । विभिन्न सङ्गठनात्मक समितिमा यसअघि काम गरे पनि आयोगको सदस्यकै रूपमा भने नेपाल निर्वाचित भएको पहिलो पटक हो ।
अमेरिकास्थित नेपालको स्थायी नियोगले विश्वमा शान्ति निर्माण गर्ने र शान्ति निर्माणमा योगदान दिने देशका रूपमा नेपाललाई चिनाउने महत्त्वपूर्ण अवसर रहेको जनाएको छ । त्यस्तै संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि शीर्ष सेना र प्रहरी योगदानकर्ताका रूपमा पनि नेपाल चयन भएको छ। यो समूहमा नेपालबाहेक भारत, बंगलादेश, इथियोपिया र रुवाण्डा पनि चयन भएका छन् ।
नेपालले अन्तर्राष्ट्रिय शान्तिसुरक्षा व्यवस्थापनका लागि संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा सहभागी भएर सन् १९५८ देखि योगदान पुर्याउदै आएको छ । नेपाल वर्तमान अवस्थामा शान्ति स्थापनाका लागि ठूलो संख्यामा सेना र प्रहरी पठाउनेविश्वकै तेस्रो ठूलो योगदानकर्ता हो ।
३१ सदस्यीय शान्ति स्थापना आयोग विश्वमा विभिन्न कारणले उत्पन्न हुने द्वन्द्व र द्वन्द्व प्रभावित देशको पुनर्निर्माण तथा संस्थागत संरचनाको निर्माणमा सघाउने उद्देश्यसहित सन् २००५ मा स्थापना भएको हो ।

प्रतिक्रिया