मुस्ताङमा फस्टाउँदै आलुखेती

नेपालखोज २०७९ पुष ८ गते १३:४६

मुस्ताङ । मुस्ताङमा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । स्याउपछि आलु मुस्ताङबाट निकासी हुने प्रमुख कृषिउपज बनेको छ । मुस्ताङमा यसपाली नौ हजार ६ सय तीन मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार ७० प्रतिशत आलु देशका विभिन्न बजारमा निकासी भएको छ ।

उनका अनुसार मुस्ताङको तीन सय १२ हेक्टर क्षेत्रफलमा आलुखेती हुन्छ । गत वर्ष ३३ करोड रुपैयाँ बराबरको ६ हजार सात सय २२ मेट्रिकटन आलु निकासी भएको उनले जानकारी दिए । ‘स्थानीय तहसँग समन्वयमा आलुको क्रप कटिङ गरिएको थियो,’ उनले भने, ‘कूल उत्पादित आलुमध्ये २० प्रतिशत आलु बिउका लागि र १० प्रतिशत जिल्लामै खपत भएको पाइयो ।’ प्रतिहेक्टर जमिनमा औसत ३० दशमलव ७८ मेट्रिकटन आलु उत्पादन हुने गरेको छ । हिमाली चिसो हावापानीमा प्राङ्गारिक विधिबाट विषादीको प्रयोगविना उत्पादन भएको मुस्ताङको आलुको बजारमा उच्च माग रहेको कृषक आजित थकालीको भनाइ छ ।

‘आलु एक पाथीको एक सय ५० रुपैयाँ देखि दुई सय १० रुपैयाँ सम्ममा बिक्री हुने गरेको छ,’ उनले भने, ‘प्रतिपाथीमा औसत तीन किलो आलु हुन्छ ।’ उनका अनुसार बारीमा नखन्दै व्यापारीले अग्रीम पैसा दिएर आलु खरिद गर्छन् । मुस्ताङ घुम्न जानेले कोसेलीका रुपमा आलु किनेर लैजाने गर्छन् । मुस्ताङको आलु स्वादिलो हुने भएकाले माग बढेको हो । अन्य ठाउँको तुलनामा मुस्ताङमा उत्पादन हुने आलुको स्वाद फरक हुन्छ । चिसो हावापानीका कारण आलुमा रोग किराको समस्या देखिएको छैन ।

मङ्सिरदेखि फागुनसम्ममा लगाइने आलु भदौ र असोजमा खन्ने गर्छन् । यहाँका किसानले आलुखेतीमा भेडाच्याङ्ग्रा, गाई, गोरु र चौँरीको मल प्रयोग गर्छन् भने रासायनिक मल प्रयोग गर्दैनन् । मुस्ताङको आलुलाई पोखरा, बेनी, बागलुङ, काठमाडौं, चितवनलगायत देशका विभिन्न सहरका होटलमा विभिन्न परिकार बनाउन प्रयोग हुने गरेको छ । -रासस

प्रतिक्रिया