शनिबार, असार २१, २०८२

एचआइभी संक्रमितको सङ्ख्या ७५

नेपालखोज २०७९ पुष ८ गते १४:०६

इलाम । इलाममा दुई बच्चासहित एचआइभी संक्रमितको सङ्ख्या ७५ पुगेको छ । गत वर्षभन्दा यस वर्ष १३ संक्रमित थप भएको इलाम नगरपालिका-७ को कार्यालयले आयोजना गरेको एक कार्यक्रममा लबकुश आश्रमकी अध्यक्ष रञ्जु शर्माले जानकारी दिए । जिल्लाको हकमा होटल व्यवसायमा काम गर्ने एक व्यक्तिका साथै लागुपदार्थ प्रयोगकर्ताहरुमा एचआइभी फैलिएको पाइएको छ ।

रोजगारीकै शिलशिलामा जिल्लामा एचआइभी संक्रमित वृद्धि भएको उल्लेख गर्दै उनले कन्यामस्थित एक होटलमा एचआइभी संक्रमित कार्यरत भएको पाएको र उनको उद्धारसमेत गरिएको बताइएको छ । संक्रमितलाई एचआइभीको आशंका भएमा परीक्षण गराउन फूलगाछीस्थित उक्त आश्रममा सम्पर्क गर्न आग्रह गरिएको छ । विगत ३३ वर्षदेखि शर्मा आफै एचआइभीसँग बाँचिरहेकी अभियन्ता छन् । उक्त वडाकार्यालयले एचआइभीसँग जीवन विताइरहेकाहरुलाई सहयोग गर्न र समुदायमा सचेतना फैल्याउने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको हो ।

उक्त वडामा मात्र छ जनाले नियमित औषधि प्रयोग गरिरहेको जनाइएको छ । जिल्लाका एचआइभीसँग बाँचिरहेका मानिस इलाम बाहेक, झापा, धरान, काठमाडौं तथा भारतका अन्य सहरबाट औषधि लिने भएकोले जिल्लाको सही तथ्यांक आउन नसक्ने अध्यक्ष शर्माको भनाइ थियो ।

नियमित औषधि प्रयोग गर्ने संक्रमित इलाम, पाँचथर र ताप्लेजुङका छन् । इलामकै मात्र औषधि प्रयोगकर्ताको सङ्ख्या भने ३५ छ । वडाध्यक्ष नरेश श्रेष्ठले जिल्लामा एचआइभीको वर्तमान अवस्था बुझ्दै भावी दिनमा वडाले एचआइभी फैलिनबाट रोक्ने कार्यक्रम गर्न पूर्वतयारीको रुपमा कार्यक्रम आयोजना गरिएको बताए ।

एचआइभीको औषधि निःशुल्क इलाम अस्पतालको एआरटीबाट उपलब्ध गराउन सहयोग गर्ने, एचआइभी भएकाको परिवारकै नि: शुल्क स्वास्थ्य बीमा गरिदिने, उनीहरुलाई पुन: स्थापना कार्यक्रम तथा स्वरोजगार बनाउने, नियमित औषधि सेवन गर्नलाई उत्प्रेरणा गर्ने काम लवकुशले गरिरहेको छ ।

प्रतिक्रिया