विज्ञानका दृष्टिले उपलब्धिपुर्ण वर्ष-२०२२

काठमाडाैं । ऐतिहासिक अन्तरिक्ष अभियान, पुरातात्विक खोज एवं वैज्ञानिक प्रयोगहरूले २०२२ लाई विज्ञानका दृष्टिले उत्कृष्ट वर्ष साबित गरेको छ । यी वैज्ञानिक उपलब्धिहरूको प्रतिध्वनि धेरै दशकसम्म सुनिनेछ ।
जनवरीमा जेम्स वेब स्पेस टेलिस्कोप आफ्नो गन्तव्यमा पुग्यो । यो पृथ्वीबाट करिब १५ लाख किलोमिटर यात्रा गरेर त्यहाँ पुगेको थियो । जनवरीमै पहिलो पटक एप्स्टाइन बार भाइरसको ठोस प्रमाण पनि फेला पर्यो। यो भाइरस मल्टिपल स्क्लेरोसिसको मुख्य कारण हो। यो महिना पहिलो पटक मानिसमा सुँगुरको मुटु ( अणुवंशिक रूपले परिमार्जित ) प्रत्यारोपण गरिएको थियो । भविष्यमा यस्ता थप प्रयोग बाट ठूलो उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ । यद्यपि यो पहिलो प्रयासको दुई महिनापछि मुटु प्रत्यारोपित मानिसको मृत्यु भयो ।
फेब्रुअरीमा अन्तरिक्षमा सहयोग, शान्ति र अनुसन्धानको ठूलो प्रतीक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन २०३१ मा अवकासमा जाने घोषणा गरियो । त्यहाँबाट फर्किएपछि उक्त अन्तरीक्ष यान लाई प्रशान्त महासागरमा जलसमाधी दिइनेछ । मार्चमा एउटा अनुसन्धानले कोभिड–१९ का कारण विश्वभर १.८० करोड मानिसको मृत्यु भएको खुलासा गरेको थियो । यो संख्या डब्ल्यूएचओको तथ्यांक भन्दा तीन गुणा बढी हो । अन्टार्कटिकामा शेकेल्टन को जहाज एंड्यूरेन्स पत्ता लाग्यो । यसलाई ध्रुवीय इतिहास र ध्रुवीय विज्ञानको सबैभन्दा ठूलो उपलब्धि मानिएको छ ।
अप्रिलमा भएको एउटा अनुसन्धानले मानव जीनमा हुने उत्परिवर्तनहरूले स्किजोफ्रेनियाको विकास गर्ने संकेत दियो । त्यस पछि १२० वटा त्यस्ता जीन पहिचान गरियो जसले यसमा भूमिका खेल्छन । अर्को अनुसन्धानले च्याउमा साइलोसिबिन फेला पारेको छ, जसले डिप्रेसनबाट पीडितहरूको उपचारमा मद्दत गर्न सक्छ। होराइजन टेलिस्कोप टिमले हाम्रो ग्यालेक्सीको केन्द्रमा भएको सुपरमासिभ ब्ल्याक होलको पहिलो तस्विर लियो । यो वर्ष करिब ५ लाख मानिसमा गरिएको परीक्षणबाट के पत्ता लाग्यो भने सात घण्टा सुत्नु हाम्रो मानसिक स्वास्थ्यका लागि उत्तम हुन्छ ।
मे मा कोभिड–१९ को खतरासँग संघर्ष गरिरहेको संसारमा अर्को भाइरस देखा पर्यो – मंकी फक्स । यो साल अन्तर्राष्ट्रिय रूपमै यसका संक्रमित बढ्न थाले। डब्ल्यूएचओले पछि यसलाई एमफक्स नामकरण गर्यो । जुनमा जर्मनीको अल्फ्रेड वेगेनर इन्स्टिच्युटले ग्लोबल वार्मिङका कारण यहि शताब्दीको मध्यमा साइबेरियन टुन्ड्रामा “ठूलो क्षति” हुने भविष्यवाणी गर्यो । यसबाट टुन्ड्रा हराउन पनि सक्ने इन्स्टिच्युट भनाइ छ । यो वर्ष धेरै रोचक खगोलीय घटनाहरू भए । यसमा पाँच वटा ग्रह एउटा सिधा रेखामा आउनु पनि थियो। उक्त घटनामा चन्द्रमासँगै मंगल, बृहस्पति, शनि, बुध तथा शुक्र एक लाइनमा देखिएका थिए ।
जुलाई २०२२ मा जेम्स वेब स्पेस टेलिस्कोपबाट लिइएको तस्बिरलाई वैज्ञानिकहरूले विश्वसामु प्रस्तुत गरे । ति तस्बिरमा ब्रह्माण्डको अदभुत दृश्य तथा विवरण देखिन्थे। पृथ्वीबाट करिब १,१५० प्रकाश वर्ष टाढा रहेको ग्रहमा पानीको वाफ देखियो भने जुलाईमै विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली कोलाइडर द लार्ज ह्याड्रन कोलाइडरमा काम गरिरहेका वैज्ञानिकहरूले तीनवटा नयाँ कण पत्ता लगाएको घोषणा गरे ।
एक अध्ययनले मानिसले पहिले देखि नै दूध पिउँदै आएका कारण ल्याक्टोज लाई पचाएको कुरा असत्य साबित गर्यो । यसै गरि बैज्ञानिकहरुले फोक्सोमा हुने (लङ) कोभिडका बारेमा थप जानकारि जुटाए जसका लागि दुई वर्ष लगाएर १.२ मिलियन बिरामीको अध्ययन गरिएको थियो।
सेप्टेम्बरमा अन्तरिक्ष यात्रीहरूले त्यस्तो कुरा हासिल गरे जुन अहिलेसम्म विज्ञान कथामा आधारित फिल्महरूमा मात्र सम्भव मानिन्थ्यो । नासाका बैज्ञानिकहरु पहिलो पटक एउटा क्षुद्रग्रहसँग अन्तरिक्षयानलाई ठोक्काएर त्यसको बाटो परिवर्तन गर्न सफल भए । यो परीक्षण भविष्यमा पृथ्वीलाई कुनै पनि क्षुद्रग्रहको ठक्कर बाट बचाउने उदेश्यले गरिएको हो ।
यो वर्ष स्वान्ते पाबोले मानिसको उत्पत्ति पत्ता लगाएकोमा चिकित्सा क्षेत्रको नोबेल पुरस्कार प्राप्त गरे। क्यारोलिन आर बर्टोजी, के. ब्यारी शार्पलेस र मोर्डन मेल्डललाई स्न्यापिङ अणुलाई एक ठाउँमा ल्याउने तरिका पत्ता लगाएकोमा रसायनशास्त्रको नोबेल पुरस्कार प्रदान गरियो। एलन एस्पेक्ट, जोन एफ क्लाउजर तथा एन्टोन जेलिङ्गरफरले भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरे।
यो वर्षको विश्व पोलियो दिवसले दुई देशमा यो रोग अझै पनि बिध्यमान रहेको तथ्यमा ध्यानाकर्षण गराएको थियो । यससँगै अमेरिका र बेलायतमा देखिएका यसका दुई नयाँ प्रकारका बारेमा पनि जानकारी प्राप्त भएको छ ।अहिले सम्मको मान्यता अनुसार मानिसले १,७०,००० वर्ष पहिले देखि खाना पकाउन थालेका हुन भनिए पनि यो वर्ष ७,८०,००० वर्षअघि पनि मानिसहरु खाना पकाएर खान्थे भन्ने कुरा प्रमाणित भयो ।
नोभेम्बर १६ मा आर्टेमिस १ नामक चन्द्रयानले पृथ्वी छोडयो । आर्टेमिस अभियान मार्फत मानिसलाई फेरि चन्द्रमामा लाने र त्यहाँ आधार निर्माण गर्ने तयारी छ। यसको सहयोगमा मानिसले मंगल ग्रहसम्म पनि यात्रा गर्न सक्ने अपेक्षा छ ।
यहि डिसेम्बर महिनामा अमेरिकाको नेशनल इग्निशन फेसिलिटीका अनुसन्धानकर्ताहरूले फ्युजन टेक्नोलोजीमा ठूलो सफलता हासिल गरेको समाचार आयो । परमाणु विखण्डन अर्थात् न्यूक्लियर फ्युजन त्यस्तो प्रक्रिया हो जसको सहायताले सूर्य भित्र ऊर्जा उत्पन्न गर्न सक्छ । वैज्ञानिकहरूले आशा गरेका छन् कि यो पृथ्वीमा ऊर्जाको भविष्य बन्नेछ । यद्यपि त्यहाँ सम्म पुग्न अझै लामो बाटो तय गर्नुपर्नेछ ।
प्रतिक्रिया