शुक्रबार, जेठ ३, २०८२

विवादित समुद्रबारे ‘भ्रम निवारण’ का लागि सम्वाद थालिने

नेपालखोज २०७९ पुष १४ गते १८:०६

मनिला । फिलिपिन्स र चीनले दक्षिण चीन सागरमा ‘गलत अनुमान र गलत सञ्चार’ हुन नदिन आ–आफ्ना परराष्ट्र मन्त्रालयबीच सिधा संवाद स्थापित गर्ने मनिलाले बिहीबार जनाएको छ ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसको बेइजिङ भ्रमणका क्रममा चिनियाँ समकक्षी सी चिनफिङसँगको भेटवार्तामा उक्त सम्झौतामा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले पत्रकारसँगको कुराकानीमा बताए

मार्कोसले चीनलाई फिलिपिन्सको समुद्री अधिकारलाई कुण्ठित गर्न नदिने बताउँदै आएको छ। उनका पूर्ववर्ती रोड्रिगो डुटेर्तेले शक्ति राष्ट्र चीनलाई चिढाउने गरी चीनको आलोचना गर्न हिचकिचाएका थिए ।

चीनले स्प्राट्ली टापु वरपरका धेरै खाली भू–भाग पुनः प्राप्त गर्न थालेको समाचार सार्वजनिक भएपछि फिलिपिन्सले गत साता आफ्नो सेनालाई विवादित जलक्षेत्रमा आफ्नो उपस्थिति बढाउन आदेश दिएको थियो ।

‘पश्चिम फिलिपिन्स सागरमा गलत अनुमान र गलत सञ्चारबाट बच्न, दुवै पक्ष एक सम्झौतामा हस्ताक्षर गर्न सहमत भएका छन्,’फिलिपिन्सका एशिया तथा प्रशान्त मामिलाका सहायक मन्त्री निल इम्पेरियलले भने । दुवै देशका विदेश मन्त्रालयबीच विभिन्न तहमा प्रत्यक्ष सम्वाद भइरहेको फिलिपिन्सले जनाएको छ ।

मनिलाले फिलिपिन्सको नजिकै पश्चिममा रहेको समुद्रलाई ‘वेस्ट फिलिपिन्स सी’ भन्ने गरेको छ । इम्पेरियलका अनुसार सम्झौताले विवाद उत्पन्न भएपछि दुई देशबीच सम्पर्कका लागि ‘प्रक्रिया’लाई औपचारिकता दिनेछ ।

उनले भने, ‘प्रतिक्षाको खेल हुनुभन्दा दुई देशबीच सम्पर्कका लागि ‘प्रक्रिया’लाई औपचारिकता दिनु उपयुक्त र उत्कृष्ट विचार हो ।’

बेइजिङले लगभग सम्पूर्ण दक्षिण चीन सागरमा सार्वभौमिकताको दाबी गर्दै आएको छ र अन्तर्राष्ट्रिय अदालतको फैसलालाई बेवास्ता गरेको छ । फिलिपिन्स, भियतनाम, मलेसिया र ब्रुनाइले यसको केही भागमा आफ्नो दाबी गर्दै आएका छन् ।

‘सी र अन्य शीर्ष नेतासँगको भेटमा मार्कोसले ‘हाम्रो देशको सार्वभौमिकतालाई कायम राख्नुहुनेछ,’इम्पेरियलले भने । ‘राष्ट्रपति मार्कोसले पश्चिम फिलिपिन्स सागरमा शान्तिपूर्ण र स्थिर स्थिति (शान्ति) चाहनुहुन्छ,’उनले सम्वादबारे भने ।

चीनले दक्षिण चीन सागरमा हजारौँ हेक्टर जमिन चिरेर स्प्राट्ली द्वीपसमूहमा कृत्रिम टापुका लागि नयाँ भूमि सिर्जना गरेर आफ्नो अडानलाई बलियो बनाएको छ । सैन्यीकृत टापुहरूमा रनवे, बन्दरगाह र राडार प्रणालीहरू छन् ।

ब्लुमबर्गले गत हप्ता अमेरिकी अधिकारीहरूको स्याटेलाइट तस्वीरहरू उद्धृत गरेको एक रिपोर्टमा स्प्राटलिस, एल्डाड रीफ, ह्वीट्सन रीफ, ल्यान्कियाम के र स्यान्डी केमा नयाँ संरचनाहरू देखा परेका छन् ।

मनिलाले उक्त रिपोर्टप्रति गम्भीर चासो व्यक्त गरेको र त्यसको भोलिपल्ट आफ्नो सेनालाई पानीमा आफ्नो उपस्थिति बलियो बनाउन आदेश दिएको जनाएको छ ।

चीनको विदेश मन्त्रालयले उक्त प्रतिवेदनलाई ‘पूर्णतया आधारहीन’ भनेको छ । मार्कोसको जनवरी ३–५ को भ्रमणका क्रममा १४ वटा द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

इम्पेरियलले मार्कोस र पूर्वराष्ट्रपति ग्लोरिया अरोयो, वरिष्ठ मन्त्री र व्यापारिक नेताहरूसहित उनको प्रतिनिधिमण्डलले सङ्क्रमणको जोखिम कम गर्न सामुद्री सीमा दावीको ‘भ्रमबारे’ सम्वाद गर्ने बताए ।

प्रतिक्रिया