शुक्रबार, जेठ ३, २०८२

कम्बोडियाको होटेलमा आगलागी, एक नेपाली सहित १९ को मृत्यु

नेपालखोज २०७९ पुष १५ गते १४:३३

काठमाडौं । उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक होटेलमा आगलागी भएको छ । यो आगलागीमा परेर कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । त्यहाँका सुरक्षा अधिकारीको प्रारम्भिक प्रतिवेदनअनुसार १९ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताएका छन् ।

प्रहरीले त्यहाँ जलेर ज्यान जानेमा होटलका कर्मचारी र केही पाहुना रहेका जनाएको छ । प्रतिवेदनमा २३ जना जलेर गम्भीर रुपमा घाइते भएका र अरु ५० जना सामान्य घाइते रहेका छन् । सोही घटनामा मृत्यु भएकामध्ये एकजना नेपाली नागरिक पनि रहेका छन् । उनी झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डे रहेको उनका सहपाठी दिनेश सिलवालले बताएका छन् ।

होटेलको भवनमा आगो लागेपछि निभाउने प्रयास भएको तर आगोको लप्काले मानिसहरुलाई लागेपछि उनीहरुको जलेर मृत्यु भएको बताइएको छ । यो प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले आगो लागेको होटेलमा हराइरहेका केही व्यक्तिको खोजीमा प्रहरी लागेको तर उनीहरु कुनै कोठामा निसास्सिएर रहेको हुनसक्ने बताएको छ ।

प्रतिक्रिया