शनिबार, असोज २६, २०८१

नेपाल टी–२० क्रिकेट लिगमा पोखराको दोस्रो जित

नेपालखोज २०७९ पुष १६ गते १४:१४

काठमाण्डौं । नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको छ । कीर्तिपुर मैदानमा आज भएको पहिलो खेलमा पोखराले लुम्बिनी अल स्टार्सलाई ९ विकेटले हरायो । लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो ।

पोखराका आरिफ शेख र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे । आसिफ ७७ रन र आरिफ २६ रनमा अविजित रहे । सुमित महर्जन १३ रनमा आउट भए । लुम्बिनीका किशोर महतोले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय २७ रन बनाएको थियो ।

लुम्बिनीका हरमित सिंहले ३८ तथा श्याड्ली भानले १६ रन बनाए । पोखराका विपिन खत्री र जाहिर खानले समान ३/३ तथा आरिफ शेख, तुलबहादुर थापा र सिद्धान्त लोहनीले समान १/१ विकेट लिए । पाँच खेलमा अपराजित लुम्बिनी छैटौँ खेलमा पोखरासँग हारेको हो ।

लुम्बिनी ६ खेलमा १० अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा कायमै छ । ७ खेलमा २ खेल जितेको पोखरा ४ अङ्कका साथ पाँचौँ स्थानमा छ । आज हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्स खेल्दैछन् ।

प्रतिक्रिया