आइतबार, कार्तिक ७, २०७८

अकबरेको राजा ‘भूत जोलोकिया’

भारतको उत्तरपूर्वी राज्यका केही ठाउँमा त ‘भूत जोलोकिया’ खुर्सानी खाने प्रतियोगिता नै हुने गरेको छ ।

केशव भट्टराई २०७८ असोज ३ गते १४:४२

काठमाडौं । ‘खुर्सानी’ अधिकांशले स्वादका लागि खाने गर्छन् । खुर्सानीको पिरो तत्त्व क्याप्सिसिन हो । खुर्सानी विभिन्न प्रकारका हुन्छन् । भेडे, लाम्चे, अकबरे, ज्यानमारा, डल्ले, जिरेलगायत खुर्सानीहरू धेरै पिरो हुने वर्गमा पर्छन् । अकबरे नेपालको पहाडी क्षेत्रमा पाइने पिरो, स्वास्थवद्र्धक तथा स्वाद बोकेको खुर्सानी हो । यसलाई नेपालको पहाडी क्षेत्रमा विशेषगरी आदिवासी जनजातिको परम्परागत पिरो मसालादार फलका रूपमा लिने गरिन्छ ।

नेपालको अकबरे खुर्सानीजस्तै भारतमा पनि पिरो, स्वादमा राजा र स्वास्थबर्द्धक खुर्सानी ‘भूत जोलोकिया’ हो । यसलाई भारतमा सबैभन्दा पिरो खुर्सानीका रूपमा लिइन्छ । यो खुर्सानी बढी खाँदा श्वास फेर्न गाह्रो हुने गरीे पिरो हुन्छ । यो खुर्सानीको आकार नेपालको अकबरेसँग मिल्दैन । तर, स्वादमा भने धैरै एकरूपता भएको भारतको मेघालयस्थित जोलोकिया खुर्सानी उत्पादन हुने ठाउँमा वर्षौंदेखि बस्दै आएका सर्जु पौडेलको अनुभव छ ।

जोलोकियाको आकार केही गोलो–लाम्चो हुन्छ । मेघालयको राजधानी सिलङमा उपभोक्ताले यो खुर्सानी एक ढिँडीको १० रुपैयाँमा किनेर खाने गरेको पौडेलले नेपालखोजसँगको फोन सम्पर्कमा बताए । नेपालमा पाइने अकबरेभन्दा जोलोकिया निकै पिरो हुने गरेको र स्वादिलो पनि भएको पौडेलको दाबी छ ।

भारतको उत्तरपूर्वी राज्यहरू मेघालय, नागाल्यान्ड, मनिपुर, असम, अरुणाञ्चल, सिक्किमलगायत राज्यमा यो खुर्सानी पाइन्छ । बढी उत्पादन भने मेघालय, नागाल्यान्ड र असममा हुने गर्छ । सन् २००७ मा यस खुर्सानीलाई संसारकै सबैभन्दा पिरो र मसलादार खुर्सानीका रूपमा समेत घोषणा गरिएको थियो ।

सन् २००७ को जुलाईमा यो सर्वप्रथम बेलायत निर्यात गरिएको थियो । सहनै नसक्ने पिरो भएकै कारणले भारतका विभिन्न ठाउँमा यसको धुलो फालेर हात्ती खेद्ने गरिन्छ । एकपटक खुर्सानीको धूलो भोगेका हात्ती फेरि कमै मात्र फर्किएर आउने किसानहरूमा विश्वास छ ।

यो खुर्सानी हात्ती हिँड्ने बाटोछेउको रूखमा, पर्खाल वा बारमा राखिए मात्र पनि गन्धले हात्ती भाग्ने गरेका छन् । भारतीय सेनाहरूले पनि आत्मरक्षाका लागि यसको धूलो बोक्ने गरेका छन् । भारतीय सेनाहरूले यसबाट खुर्सानी बम पनि बनाउने गर्छन् ।

नेपालका प्रायः सबै पहाडी भू–भागमा अकबरे खुर्सानी पाइएजस्तै जोलोकिया भने भारतको निश्चित भू-भागमा मात्रै पाइन्छ । तर दुवै उत्पादन हुने भौगोलिक अवस्था भने समान छ । दुवै खुर्सानी बढी उत्पादन हुने ठाउँ पहाडी भूभाग नै हो । अकबरे नेपालको पहाडी जिल्लाहरू इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, गुल्मी, पाल्पा, अर्घाखाँचीमा धेरै उत्पादन हुने गर्छ ।

नेपालको अकबरे बाहिरी देशमा पनि धेरै परिमाणमा निर्यात गर्ने गरिएको छ । विभिन्न ठाउँमा फलाइने अकबरे खुर्सानीमध्ये पूर्वी पहाडमा फल्ने बढी स्वादिलो हुने गर्छ । अकबरे ६-७ जात प्रजातिसम्म हुने गरेको कृषिविद्हरू बताउँछन् । अकबरे खुर्सानीका विभिन्न प्रजातिमध्ये लाम्चो (बास्नादार) एक हो । योसँग भारतको स्वादप्रिय खुर्सानी जोलोकियाको स्वाद तथा पिरो मिल्ने गरेको छ ।

भारतको जोलोकिया जस्तै नेपालको अकबरे पनि विश्वमै प्रसिद्ध छ । अकबरे संसारमा कहीँ पनि नपाइने र पाइए पनि अलि फरक आकार र स्वादको पाइन्छ । बढी सेवन गरे श्वास रोकिई ज्यानकै जोखिम हुने भएकाले अकबरेलाई ज्यानमारा भनिएजस्तै भारतमा जोलोकियालाई पनि त्यही श्रेणीमा राख्ने गरिएको छ ।

भूत जोलोकियालाई भुटानी खुर्सानी पनि भन्ने गरिन्छ । यसलाई ‘घोस्ट पिपर’ वा भूतिया खुर्सानी पनि उपनाम दिइएको छ । नागा चिल्ली र राजा मिर्चा पनि भारतमा यसको प्रसिद्ध नाम हो । यसलाई भारतको उत्तरपूर्वी राज्यमा आदिवासी समुदायले मासु पकाउनका लागि नभई नहुने मसलाका रुपमा लिने गरेको बताइन्छ । भारतका सातवटा उत्तरपूर्वी राज्यमा अरू राज्यमा जस्तो मसला एकदमै कम प्रयोग गरिन्छ । यी राज्यका आदिवासीको भान्सामा बासनादार र स्वादजन्य मसाला भनेकै जोलोकिया खुर्सानी हो । सुँगुरको मासु, चिकेन र माछाको परिकार बनाउन यो धेरै प्रयोग हुने गरेको छ ।

यो सामान्य खुर्सानीभन्दा सयौं गुणा पिरो हुने गर्छ । भारतमा एकदमै प्रसिद्ध खुर्सानी उत्तरपूर्वी राज्यमा उत्पादन हुने गर्छ । भारतको मेघालय, असम, मनिपुर, अरुणाञ्चल, नागाल्यान्डमा उत्पादन हु्ने गर्छ । यसलाई ग्रामीण भेकमा आदिवासी समुदायका किसानले उत्पादन गर्ने परम्परागत खुर्सानीका रूपमा लिइने गरिन्छ । आधुनिक कृषि प्रणालीबाट धेरै टाढा भई किसानले फलाउने अर्ग्यानिक खुर्सानी हो भूत जोलोकिया । यसलाई घाममा सुकाएर प्राकृतिक पिरो नहट्ने गरी स्वास्थवद्र्धक बनाउने गरिन्छ । पूर्ण रूपमा अग्र्यानिक –विषदीरहित) यसलाई परम्परागत किसिमले गुणस्तरीय नहराउने गरी सञ्चय गरेर राख्ने गरिन्छ ।

भारतीयहरूले भूत जोलोकियालाई ‘भर्सटाइल स्पाइस’ वा विभिन्न गुण भएको खुर्सानी मसलाका रूपमा लिने गर्छन् । यो खुर्सानी राखेर बनाइएको तरकारी, मासु र अचारको स्वादमा अरूभन्दा फरक स्वाद हुने गर्छ । यसको स्वाद र बासना थाह पाएकाले दोहोर्‍याएर खान खोज्छन् ।

यसरी बनाइन्छ जोलोकिया खुर्सानीको अचार
भारतको उत्तरपूर्वी राज्यका आदिवासी समुदायले बनाउने यसको अचारको महत्त्व धेरै छ । यसको अचार बनाउँदा आवश्यकताअनुसार १० देखि २० वटा काँचो पिसेको खुर्सानी, भुटेको वा पिसेको मेथीको धुलो, तोरीको छोप, पिसिएको वा धूलो अदुवा, पिसिएको लसुनको मात्रा, भुटेको सुप, आवश्यकताअनुसार नुन, अमिलो वा कागतीको रस तोरीको तेलमा मुछेर बनाउने गरिन्छ । विभिन्न सामान मिसाएर तयार गरिएको अचार तत्काल पनि खान सकिन्छ । लामो समयसम्म खानका लागि सिसाको बोतलमा राखेर १० दिनसम्म घाममा राख्नुपर्ने हुन्छ ।

भारतका उत्तरपूर्वी राज्यका केही ठाउँमा त ‘भूत जोलोकिया’ खुर्सानी खाने प्रतियोगिता नै हुने गरेको छ । हर्नबिल फेस्टिबल नागाल्याण्डमा जोलोकिया खुर्सानी जसले बढी खान्छ , पुरस्कार प्राप्त गर्दै सम्मानित हुने गर्छ । धेरै खाए ज्यानैको खतरा हुने भएकाले प्रतियोगितामा एम्बुलेन्स पनि राख्ने गरिएको छ ।

भारतको उत्तरपूर्वीं राज्यको भुतिया जोलोकियाजस्तै अकबरे खुर्सानी अचारका लागि प्रसिद्ध छ । अचारजन्य परिकार नेपालबाट अमेरिका, युरोपका विभिन्न देश, अस्ट्रेलिया, बेलायत र खाडी राष्ट्रहरूसम्म निर्यात हुने गरेको छ । भारतीय जोलोकिया र नेपाली अकबरे ग्यास्ट्रिकको समस्या भएका र चिसो लागेका मानिसहरूका लागि औषधि हुने गर्छ । यस्तै अल्सरको संक्रमणबाट बच्न, मोटोपन घटाउन, रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, पिसाबको समस्या कम गर्न, हाडजोर्नीको दुखाइ कम गर्न यस्ता खुर्सानीको सेवन उपयोगी हुने आयुर्वेदविज्ञहरू दाबी गर्छन् ।

खाना पचाउने काममा विशेष सहयोग गर्ने, माइग्रेनको समस्या समाधान गर्ने, नियमित सेवन गरे केही हदसम्म क्यान्सर लाग्नबाट जोगिने, कोल्ड फ्लुबाट बच्न मद्दत पुर्‍याउने, कार्डियो भास्कुलर र मुटुको समस्या हुनबाट जोगाउनमा पनि भारतीय भूत जोलोकिया र नेपाली अकबरे उपयोगी हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया