राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश जम्मा

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको १९ औं वार्षिक साधारणसभा सकिएकै दिन सोमबार बैंकले गत आर्थिक वर्षको लाभांश १५ हजार चार सय ७४ सदस्य सहकारी संघ-संस्थाको खातामा लाभांश रकम पठाएको बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।
साधारण सभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरेको लगत्तै बैंकले खातामा रकम पठाएका छौं, बैंकका अध्यक्ष के.बी. उप्रेतीले भने । उनका अनुसार साधारण सभा सकिए लगतै आजै सहकारीहरुको खातामा लाभांश पठाईएको उल्लेख गरे । एकाइ प्रतिनिधिहरुको साधारण सभा सोमबार सम्पन्न भएसँगै देशभरका सहकारीहरुको खातामा लाभाशंको रकम पठाइएको हो ।
बैंकले गत आर्थिक वर्ष ०७८/७९ मा ४३ करोड ४५ लाख ५७ हजार साता सय ४८ रुपैयाँ लाभांश वितरण गरेको छ, सहकारी बैंकले विगत पाँच वर्ष देखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ ।
बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पूंजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समाबेश नगरीएको बैंकले जनाएको छ, बैंकले जारी गरेको प्रेस विज्ञप्ती अनुसार बैंकसँग कारोबार गर्ने सम्पूर्ण सदस्य संघ/संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत राष्ट्रिय सहकारी बैंकसँग गरिने कारोबारमा वृद्धि गरी थप लाभान्वित हुन सम्पूर्ण सहकारी संघ–संस्थाहरुमा अनुरोध गरेको छ ।
बैंकले छिट्टै नै सदस्यहरुलाई संरक्षित पूँजीफिर्ता कोषको रकम पनि सदस्यको खातामा पठाउने तयारी गरेको छ, बैंकले लाभांश बाहेक कारोबारका आधारमा संरक्षित पूँजीफिर्ता कोषबाट पनि सदस्य सहकारीहरुलाई रकम उपलब्ध गराउँदै आएको छ । संरक्षित पूंजीफिर्ता कोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समय पछि प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए ।








प्रतिक्रिया