कहिलेसम्म रहला यो वर्षकाे जाडो ?

नेपालखोज २०७९ पुष २० गते ९:०९

काठमाडाैं । उपत्यकासहित देशका विभिन्न भागमा अहिले चिसो बढ्दो क्रममा छ।चिसो बढेसँगै मानिसहरूले अब कति दिनसम्म यस्तो जाडो कायम रहला भन्ने चासो व्यक्त गरिरहेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा यो वर्षको जाडो भर्खरै सुरु भएको छ । त्यसले गर्दा अबको करिब एक महिनासम्म उपत्यकासहित विभिन्न भागमा चिसो हुने क्रममा खासै कमी नआउन सक्छ ।

हिमालमा हिमपात, पहाडमा तुवाँलो र तराईमा हुस्सु : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यो साता नेपालका कैयौँ हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना छ। त्यस्तै पहाडी क्षेत्रमा तुवाँलो लाग्ने र केही स्थानमा वर्षाको सम्भावना देखिन्छ भने तराई क्षेत्रमा पनि हुस्सु लाग्ने देखिएको छ । महाशाखाले जारी गरेको तीन दिने मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । त्यसले गर्दा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना भएको हो भने अन्य क्षेत्रमा सामान्य वर्षाको सम्भावना भएको हो ।

यद्यपि वर्षा गराउनका लागि व्यापक प्रणाली विकास भएको नदेखिएको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । पौडेलका अनुसार ‘यतिबेला पश्चिमी वायुको प्रभावले वर्षा हुने हो तर अहिले त्यस्तो व्यापक जलवाष्पयुक्त बादल देखापरेको छैन। बादल हल्का देखिएकाले केही स्थानमा वर्षा हुनसक्छ ।’ उनका अनुसार काठमाण्डू उपत्यकामा प्रदूषण धेरै भएकाले प्रदूषण मिसिएको तुवाँलो भने लाग्ने देखिन्छ । त्यो प्रदूषणयुक्त हुने भएकाले विशेषगरी तापक्रम कम हुने बिहान र बेलुका मास्क नलगाई बाहिर हिँड्नु उपयुक्त नहुने उनको भनाइ छ। त्यस्तै तराईमा अहिले हुस्सु लागिरहेको छ ।

यो क्रम अझै केही दिन बढ्ने अनुमान विभागले गरेको छ। तराईमा लागेको हुस्सुका कारण धेरै स्थानमा उडान सेवाहरू पनि प्रभावित हुन सक्ने पौडेलले बताए। उपत्यकामा चिसो : काठमाण्डू उपत्यकामा गत साता यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम पुगेको थियो । त्यतिबेला उपत्यकामा तापक्रम ३.४ डिग्री सेल्सिअस भएको उनले बताए । त्यस्तै अहिले देशका केही भागमा जस्तै जुम्ला र जोमसोमजस्ता मौसमसम्बन्धी जानकारी दिने केन्द्र भएका स्थानमा न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म पुगेको उनले बताए । यो क्रम अझै बढ्ने पौडेलले जानकारी दिए। उनले भने, ‘पुस १५ देखि माघ १५ सम्म नेपालमा धेरै जाडो हुने मानिन्छ। त्यस्तो जाडो भर्खर सुरु भएको छ त्यसैले यो करिब एक महिना रहन्छ।’

स्रोत : बीबीसी

प्रतिक्रिया