बिहीबार, जेठ २, २०८२

चीनमा धेरै सेलिब्रेटीको मृत्यु, कोरोनाको त्रास अझ बढ्यो

नेपालखोज २०७९ पुष २२ गते ११:०९

कठमाडाैं । चीनमा कोरोनाका बढ्दो संक्रमितका बीच चर्चित व्यक्तिहरुको मृत्यु भएपछि यसको आधिकारिक तथ्यांकलाई लिएर मानिसहरूमा शंका बढ्दै गएको छ । गत महिना, ओपेरा गायक चु लानलानको ४० वर्षको उमेरमा भएको मृत्युले सबैलाई चकित बनाएको थियो। परिवारले यसप्रति दुःख व्यक्त गरे पनि मृत्युको कारण भने खुलाएको छैन् । त्यस्तै नयाँ वर्षमा अभिनेता कुङ जिन्ताङको मृत्युले चीनका इन्टरनेट प्रयोगकर्तालाई स्तब्ध बनाएको छ ।

८३ वर्षीय जोङ एक लोकप्रिय चिनियाँ टिभी शृंखला ‘इन-लॉज, आउट-लॉज’ मार्फत घरघरमा चर्चामा आएका थिए। उनको चरित्रको नाम ‘फादर खाङ’ थियो । उनको मृत्युको कारण पनि खुलेको छैन तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई अन्य वृद्धको मृत्युसँग जोडिरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘फादर खाङको आत्माले शान्ति पाओस्। यो लहरले धेरै वृद्धहरुको ज्यान लिइरहेको छ ।

बुढापाकाको पूरा ख्याल गर । हालै भएका मृत्युमध्ये चर्चित पटकथा लेखक नि जेन (८४ वर्ष) तथा पूर्व पत्रकार हु फ्युमिङ (८७ वर्ष)को मृत्यु चर्चाको विषय बनेको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार २१ र २६ डिसेम्बरको बीचमा विज्ञान र इन्जिनियरिङका १६ जना शीर्ष व्यक्तिको मृत्यु भएको थियो भने ती मृत्युमध्ये कुनै पनि कोभिडसँग जोडिएको थिएन तर सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भएको थियो । चीनको शून्य कोभिड नीति : चीनले डिसेम्बरमा आफ्नो शून्य कोभिड नीति समाप्त गरेको थियो। त्यसपछि देशमा कोरोना संक्रमितहरुको गति निकै बढेको छ । चीनमा अस्पताल र शवदाह गृहहरूमा भीडभाड भएका अनेकौं रिपोर्ट छन्।

चीनले कोरोनाको दैनिक तथ्यांक सार्वजनिक गर्न बन्द गरेको छ । आफ्नो मापदण्ड अनुसार चीनले डिसेम्बरमा मात्र २२ जना कोरोना संक्रमित भएको बताएको छ । अहिले निमोनियाजस्ता श्वासप्रश्वास सम्बन्धी रोगबाट मृत्यु हुनेहरुको मात्र गणना भइरहेको छ । विश्व स्वास्थ्य संगठनले अस्ति बुधबार चीनले कोरोनाका बढ्दो केस र मृत्युका बारेमा सही जानकारी नदिएकोमा चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया