अब अनलाइनबाटै नाे अब्जेक्सन लेटर

नेपालखोज २०७९ पुष २३ गते १७:३२

काठमाडौँ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई अनिवार्य गरिएको नो अब्जेक्सन लेटर (एनओसी) अनलाइनबाट उपलब्ध गराउने तयारी सुरु भएको छ । अहिले एनओसीका लागि विद्यार्थीले अनलाइनबाट आवेदन दिन सक्छन् तर पत्र लिन भने आफैँ उपस्थित हुनुपर्छ ।

विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर एनओसी वितरण गर्दा झन्झट बेहोर्नुपर्ने, टाढाबाट आउँदा अनावश्यक खर्च हुने तथा सम्बन्धित कार्यालयमा भीडसमेत हुने गरेको छ ।

एनओसी लिनेको लाइन बढेपछि कम गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सेमी अनलाइन’ बनायो तर त्यसले भीड कम गर्न सकेको छैन । शिक्षा मन्त्रालयले प्रवाह गर्ने सेवामध्ये सबैभन्दा लामो लाइन एनओसी वितरण गर्ने कार्यालयमै हुने गरेको छ ।

अहिले दैनिक एक हजार जनासम्मले शिक्षा मन्त्रालयबाट एनओसी लिने गरेका छन् । एनओसीलगायतका सेवालाई झन्झटरहित बनाउन मन्त्रालयले सहसचिव डा .कमलप्रसाद पोखरेलको संयोजकत्वमा समिति गठन गरेर तयारी सुरु गरेको छ। समितिले राष्ट्रिय परीक्षा बोर्ड, विभिन्न विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग, परराष्ट्र मन्त्रालय, अध्यागमन विभागलगायतका पदाधिकारीसँग परामर्श गरिरहेको छ ।

एनओसी लिनेमध्ये ६० प्रतिशतभन्दा बढी स्नातक तह अध्ययन गर्न चाहने हुन्छन् । एनओसीलाई पूर्ण अनलाइन बनाउन चिकित्सा शिक्षा आयोगले दिएको ‘इलिजिबिलिटी लेटर’, सीटीईभीटी, इन्जिनियरिङ काउन्सिल, भेटरिनरी काउन्सिल, नागरिक उड्डयनसँगको प्रिअप्रुभल, विदेशी मुद्रा सहटी गर्न सम्बन्धित बैङ्क आदिसँग पनि समन्वय गर्नुपर्ने हुन्छ ।

अहिले वर्षमा कति विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिए भन्ने थाहा भए पनि तीमध्ये कति विदेशिन्छन्, कतिले के कति रकम विदेश लिएर जान्छन्, कतिले रकम फिर्ता गर्छन्, कति अध्ययन पूरा गरी फर्किन्छन्, कुन देशमा कति विद्यार्थी कुन विषय लिएर अध्ययन गरिरहेका छन् भन्नेलगायतका तथ्याङ्क राज्यका कुनै निकायसँग छैन । एनओसीमा पूर्ण अनलाइन प्रणाली लागू भएपछि यी सबै तथ्याङ्क सहजै उपलब्ध हुने शिक्षा मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया