नयाँ सरकारलाई अर्थतन्त्र ठीक बाटोमा लैजान सुझाव

काठमाडौं । राष्ट्रियसभा सदस्य एवम नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले नयाँ सरकारलाई मुलकको अर्थतन्त्र अगाडि बढाउनेतर्फ केन्द्रित रही काम गर्न सुझाव दिएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा शुभकामना मन्तव्य दिँदै उनीले सरकारले अर्थतन्त्रलाई ठीक बाटोमा अगाडि बढाउन सल्लाह दिए । ‘वर्तमान सरकारले अर्थतन्त्रलाई ठीक दिशामा लैजान कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने देखिन्छ, उनले भने, धान, उखुलगायत किसानका उत्पादनलाई सरकारले समयमै खरिद गर्ने र बजारीकरणको व्यवस्था गर्नुपर्छ ।’
उनले राष्ट्रियसभा प्रतिनिधिसभाको छायाँ बन्न नहुने तर्क गर्दै त्यसको समन्वय गरेर अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिए । जनता समाजवादी पार्टीका सांसद प्रमिला कुमारीले राजनीतिक स्थायित्व कायम गरी शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक वृद्धिमा ध्यान दिन आवश्यक रहेको बताए । उनले मधेसमा अत्यधिक शीतलहरका कारण पीडित बनेकालाई राहत सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंहले मुलुकमा अहिले पनि किसानले मलको अभाव झेलिरहेकाले यथाशीघ्र मल उपलब्ध हुने व्यवस्था गर्न सरकारसँग आग्रह गरे । राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षको सम्मानका लागि देशमा सुशासन कायम राख्न आवश्यक रहेको बता । उनले सुशासन र राजनीतिक स्थिरता भएमा जनताको माग र देशको आवश्यकता पूरा गर्न सकिने धारणा राखे ।
बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका पूर्वसदस्य मैयाँदेवी श्रेष्ठ, संविधानसभा सदस्यद्वय बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनमा प्रस्तुत शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा उनीहरुको सम्मानमा एक मिनेट मौन धारणसमेत गरिएको थियो । राष्ट्रियसभाको अर्को वैठक यही पुस २९ गते शुक्रबार १ बजे बस्नेछ ।

प्रतिक्रिया