नेपालखोज दिनभर : आजका हेडलाइन
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ । आजको सङ्घीय संसद् बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शिर्ष नेताहरुले सम्बोधन गरेका थिए ।
वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । यसबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनको कार्ययोजना एक महिनाभित्र बनाउन सचिवहरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिएका छन् । आज साँझ प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भएको भेटका क्रममा सभापति देउवाले त्यसबारेमा पार्टीमा छलफल गरेर मत दिने आश्वासन दिएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् भने एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन् ।
वागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । उनी माओवादी केन्द्रका नेता एवं संसदीय दलका नेता हुन् ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको औचित्य स्थापित गर्न अधिकतम कोशिस गर्ने बताएका छन् । अधिकारी आजै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।
जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत निर्वाचित भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले समेत यादबको नाममा सहमति जनाएपछि उनि सर्वसम्मत निर्वाचित भएका हुन ।
निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिको काम बन्द गरेको थियो ।
सरकारको निर्देशनमा नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार नयाँ भाडा दर पुस २७ बाट लागू हुने छ ।
मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार गरिएको छ । उद्धार भएकामध्ये ६ जना भोलि मंगलबार स्वदेश फर्कदैछन ।

प्रतिक्रिया