अहंकार नदेखाई सरकार चलाउन अध्यक्ष नेपालको सुझाव
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली प्रवृत्ति र नियत अझै ठिक नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बचेर काम गर्न र अहंकार नखाई सरकार चलाउन सुझाव दिएका छन् । उनले ओली पथको पछाडि नलाग्न प्रचण्डसँग आग्रह पनि गरेका छन् । प्रधानमन्त्रीको रुपमा अहंकार देखाउने र आफैंलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिका पछाडि नलाग्न नेपालको सुझाव छ ।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालल केपी ओलीले मंगलबार संसद् बैठकमा गरेको सम्बोधनलाई लक्षित गर्दै ओलीले अहिले पनि आफैंलाई सर्वेसर्वा ठान्ने गरेको र गल्ती स्वीकार नगरेको भन्दै त्यसो नगर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे । प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्वीकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उनले बताए ।
उनले त्यस्तो नहुन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउँदै भ्रष्टाचार नियन्त्रण गर्ने, विकास, निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्रीलाई १५ बुँदे सर्तसहित विश्वासको मत दिएको बताए । उनले आफ्नो पार्टीले दिएको समाजवादको खाकासहितको १५ बुँदे सुझावलाई ध्यान दिएर अघि बढ्ने विश्वास आफुले लिएको बताए ।
अध्यक्ष नेपालले संविधानको मूल मर्म र भावनालाई ध्यान दिएर अघि बढ्न पनि प्रधानमन्त्री प्रचण्डलाई सचेत गराएका थिए । उनले भने, ‘कमसेकम विगतमा गल्ती हुन पुग्यो भनेर महसुश भए त हुन्थ्यो । तर यो महसुश नै नगर्ने राजनीतिक वृत्तमा एउटा प्रवृत्ति देखिन्छ–मैले जे गरेँ, ठीक गरे । शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुश नगर्ने, अहंकार प्रर्दशन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ने ठान्ने, आफूलाई सुप्रिम र सुप्रिमो ठान्ने नेपाली राजनीतिमा पनि यो प्रवृत्ति देखिन्छ ।’
राम्रो संस्कार र संस्कृति अवलम्बन गर्नुपर्ने भन्दै नेपालले भ्रष्टाचारबाट जोगिन र देशको विकासले गति लिन सक्नेगरी काम गर्न सल्लाह दिए । उनले आफूहरूले यो सरकारलाई १५ बुँदे सर्तसहित समर्थन गरेको पनि बताएका थिए । ती सर्तमा राष्ट्रियताको विषयदेखि जनजीविकाका विषय हुँदै युवा बेरोजगारीका विषय पनि समेटिएको छ ।
अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संविधानको व्यवस्था भए पनि ओलीले आफूले ठीक गरेँ भनेर अझै पनि अहंकार प्रस्तुत गरिरहेको भन्दै आपत्तिसमेत जनाएका थिए । उनले विश्वासको मत लिने क्रममा गरेका प्रतिबद्धताहरु पूरा गर्न पनि प्रधानमन्त्री दाहाललाई सुझाव दिए । सरकारले जनतालाई अनुभूति हुने गरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग रहिरहने उनको भनाइ थियो ।
प्रतिक्रिया