राष्ट्रनिर्माताको सामरिक सोच र दृढ अठोट मुलुकको जग हो : प्रधानसेनापति शर्मा

नेपालखोज २०७९ पुष २७ गते २०:४५

काठमाण्डौं । प्रधानसेनापति प्रभुराम शर्माले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण र रक्षार्थ पु¥याउनुभएको योगदान अतुलनीय रहेको बताए ।

३०१औँ पृथ्वी जन्मजयन्तीमा आज गोरखामा आयोजित शालिक अनावरण र झण्डोत्तोलन कार्यक्रममा उनले राष्ट्रनिर्माताले लिनुभएको सामरिक सोच, दृढ अठोट र परिकल्पना देशको जग र साझा फूलबारी भएको उल्लेख गरे ।

प्रधानसेनापति शर्माले भने, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षालगायत महत्त्वपूर्ण हितको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै नेपाली जनताको हकहितको रक्षा गर्नु नेपाली सेनाको प्रमुख दायित्व छ ।’

सेनाले गढी, किल्ला, दरबार, कोट तथा कला संस्कृतिको संरक्षण गरी राष्ट्रिय एकता कायम गर्न टेवा पु¥याउँदै आएको छ । सेनाका संस्थापक एवं राष्ट्रनिर्माताले नेपालको आर्थिक, सामाजिक एवं वैदेशिक नीतिका सम्बन्धमा दिनुभएको मार्गदर्शन आज पनि उत्तिकै मननयोग्य रहेको उनले उल्लेख गरे ।

राष्ट्रिय सुरक्षा रणनीति, कूटनीति र राष्ट्रिय एकताका सम्बन्धमा दिनुभएको दिव्योपदेश हाम्रो राष्ट्रको गौरवमय इतिहास जोगाइराख्न महत्त्वपूर्ण सावित हुँदै आएको उनको भनाइ थियो । यसअघि आजै सैनिक मुख्यालयमा आयोजित समारोहमा प्रधानसेनापति शर्माले त्यहाँस्थित राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गरे ।

प्रतिक्रिया