बागमतीमा सभामुखका लागि पाठक, अधिकारी र सायजुबीच प्रतिस्पर्धा हुने

काठमाण्डौं । बागमती प्रदेश सभामुखका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता साझेदार दलबाट राप्रपाका भुवन पाठक, नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकिपाकी सृजना सायजुले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।
सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा अनुसार राप्रपाका पाठक नेकपा एमाले र माओवादीसहितको समर्थनमा सभामुखको उम्मेदवार बनेका हुन् । पाठकलाई नेकपा एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रस्ताव र नेकपा माओवादी केन्द्रका युवराज दुलालले समर्थन गरेका छन् ।
बागमती प्रदेशमा सत्ता साझेदार पाँच दलसँग ७० सांसद छन् । सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ सांसद छन् । तर कांग्रेसले अधिकारीलाई उम्मेद्वार बनाएको छ । उनको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्ण चित्रकार समर्थक छन् ।
उता, ३ सिट रहेको नेमकिपाले पनि सभामुख पदका लागि उम्मेदवार अघि सारेको छ । सायजुको प्रस्तावकमा नेमकिपाका सांसद सुरेन्द्रराज गोसाइँ सायजु र समर्थकमा गीता काफ्ले रहेकी छिन् ।
प्रतिक्रिया