राष्ट्रिय वाणिज्य बैंको १७औं वार्षिक साधारण सभा सम्पन्न, १२ दशमलव ५० प्रतिशत लाभांश पारित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले बिहीबार काठमाडौंमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले १२ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभाँशमा सात दशमलव ५० प्रतिशत नगद लाभांश र पाँच प्रतिशत बोनस सेयर रहेको छ ।
साधारण सभाले चुक्ता पुँजीको सात दशमलव ५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख रुपैयाँ नगद र पाँच प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैंया बरावरको बोनस शेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ । यसपछी बैंकको कूल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ हुने छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारण सभामा अध्यक्ष डा.पाठकले कोभिड-१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए । उनले बदलिदो परिवेश र ग्राहकको चाहनाअनुरूप यस बैंकले सेवा प्रवाहलाई थप परिस्कृत गरी प्रभावकारी र कार्यकुशलतामा अभिबृद्धि ल्याउन बिजेनश प्रिसियस रि-ईन्जिनियरिङ सम्पत्ति उपयोगिता योजना, हिसाब मिलान एवं लागत नियन्त्रण परियोजना कार्यक्रम, निष्कृय कर्जा र गैर बैंकिङ सम्पत्तिहरुको उचित व्यवस्थापन, सूचना प्रविधिलाई समय सापेक्ष सुदृढिकरण गर्ने सम्बन्धी कार्यलाई समावेश गरी योजनाबद्ध रुपमा अगाडि बढाइएको बताए ।
साधारण सभामा बैंकका सेयरधनीहरु क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण सेयरधनिहरुको उपस्थिति रहेको थियो । अध्यक्ष डा. पाठकले प्रस्तुत गरेकोे प्रतिवेदन माथि शेयरधनीहरु डमरु वल्ल्भ घिमिरे, दामोदर प्रसाद घिमिरे, रामगोपाल श्रैष्ठ र अमृतनाथ रेग्मीले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाब सहितको धारण धारणा राखेका थिए । यो टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले जवाफ दिएका थिए ।
यो साधारण सभामा बैंक सञ्चालक समितिका सदस्यहरु शम्भुप्रसाद मरासिनी, प्रा.डा. राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती, दिलिपकुमार ढुङ्गाना, सुशिल घिमिरे, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेल, दुर्गा कँडेल छत्कुलीको उपस्थिति रहेको थियो ।
साधारण सभामा कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार महेश वराल, महालेखापरीक्षकको कार्यालयका निर्देशक कमल सिलवाल, बैंकका कानूनी सल्लाहकारहरु, बैंकभित्र क्रियाशिल ट्रेड युनियका अध्यक्षहरु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । साधारण सभालाई कम्पनी सचिव हेमराज खरेलले सहजिकरण गरेका थिए । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ रहेको छ ।








प्रतिक्रिया