विमान दुर्घटनामा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरामा आज बिहान भएको विमान दुर्घटना र उक्त दुर्घटनामा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंबाट आज बिहान १०ः३२ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा भएको दुर्घटना भएको हो ।
‘चारजना चालक दलका सदस्यसहित ७२ जना यात्रु लिएर पोखराका लागि उडेको विमान दुर्घटनामा परी ज्यान गुमाउनुहुने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, अध्यक्ष तिमिल्सिनाद्वारा आज जारी शोक वक्तव्यमा भनिएको छ । उनले दुःखको यस घडीमा उक्त विमानमा सवार स्वदेशी तथा विदेशी यात्रुहरूको शीघ्र खोज तथा उद्धार गर्न नेपाल सरकारलगायत सम्बद्ध निकायलाई हार्दिक अपिल गरेका छन् ।
नेपालमा बारम्बार दोहोरिरहने यस्ता घटनाले ठूलो जनधनको क्षति हुनाका साथै आन्तरिक उड्डयन क्षेत्रको विश्वसनीयता घट्दै गएको बताउँदै उनले आगामी दिनमा सुरक्षित हवाई यात्राका लागि सम्पूर्ण विमानको प्राविधिक परीक्षण अनिवार्य र कडाइका साथ गर्न अनुरोध गरे । हवाई सुरक्षाका सम्पूर्ण उपायाहरू अवलम्बन गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया