शनिबार, असोज १९, २०८१

माघे संक्रान्ति मनाउने तरिका : जाति र भेग अनुसार फरक

नेपालखोज २०७९ माघ २ गते १०:४१

तस्विरमा माघे संक्रान्तिको दिन आज भन्दा ४०–५० वर्ष पहिले मनाइएको मेला तथा उत्सवको झलक । तस्बिर कलेक्सन – सुनिल उलक

माघ महिनाको शुरुको दिन, माघ १ गते । जुन दिनलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । विभिन्न समुदायले भिन्न भिन्न परम्परा आत्मसाथ गरि मनाउँछन् । यो बर्ष पनि मनाइएको छ । संक्रान्तिको दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएको हुँदा यस दिनलाई माघे संक्रान्ति भनिन्छ । मकर संक्रान्ति मुख्यरुपले कृषीउपजलाई प्राथमिकता दिने पर्वका रुपमा लिनुपर्ने हुन्छ ।

यो पर्व केवल नेपालमा मात्रै होइन हिन्दू धर्म मान्ने भारतमा समेत मान्ने गरिन्छ । पूर्वी भारतमा बीहूका रुपमा मानिने यो पर्व पश्चिम भारतमा भने उत्तरायणका रुपमा मनाउने गर्दछन् । दक्षिण भारतमा पोंगलका रुपमा मनाउने गरिन्छ भने उत्तर भारतमा लोहडीका रुपमा मनाउने गर्दछन् । यसरी भारतमा पनि बिबिध नाम दिएर मनाउने यो पर्व भारत र नेपाल बाहेकका अन्य एशियाली राष्ट्रमा पनि बिभिन्न नामले मनाउने गरेको हामी पाउँदछौ । श्रीलंकामा पनि दक्षिण भारतीयले झै पोंगल भन्ने गर्दछन् ।

साथै तमिल समुदायले भने उझावर थिरुनाल नाममा मकर संक्रान्ति मनाउने गर्दछन् । लाओसमा मा लाओ नाममा मनाउने गर्दछन् । थाइलैण्डमा सांग्कर्ण नाममा यस दिन पर्वका रुपमा मनाउने गर्दछ । कंबोडियामा भने मोहा संगकर्ण नाममा मनाउने गर्दछन् । बंगलादेशमा भने पौष संक्रान्तिका रुपमा मनाउने गर्दछन् ।

नेपालमा पनि बिभिन्न किसिमले मनाउने गरिन्छ र विभिन्न नाम दिएर मनाउने गरिन्छ । नेपालको दक्षिण भूभाग तराइको पश्चिम नेपालमा बस्ने थारु समुदायले माघ पर्व धुमधामले मनाउने गर्दछन् । तर अचेल नाम भनेर परिवर्तन भएर माघी भएको छ । मध्य तराइमा बस्ने थारु समुदायले भने खिचडी खाने पर्व भएको हुँदा खिचडा भनेर भन्ने गर्दछन् तर पूर्वमा बस्ने थारु समुदायले तिला संक्रान्तिका रुपमा मनाउने गर्दछन् । एउटै पर्व र एउटै जातिले पनि विभिन्न नाम दिएर मनाउने यो पर्व नेवाः समुदायका लागि भने घ्यःचाकु सँल्हु (घिउ र चाकु खाने चाड) का रुपमा रहन गएको छ । मगर समुदायले भने माघे संक्रान्तिका रुपमा रहन गएको छ । यस्तै किराँतहरुको भने यसै दिनबाट नयाँ सालको शुभारम्भ हुने गर्दछ ।

समग्रमा भन्नु पर्दा माघे संक्रान्ति महिलाहरुको लागी मनाइने बिशेष पर्व हो । पुरुषप्रधान हाम्रो समाजले एक दिन महिलाहरुको लागि मनाउने पर्वका रुपमा लिने गरेको देखिन्छ । दोश्रो यो पर्व कृषी उपज तथा कन्दमूल खाने पर्वका रुपमा पनि रहन गएको पाउँछौ । यस दिन महिलाहरुको सम्मान गर्दै माईत बोलाउने मिठो मिठो खुवाउने र अन्तमा घर जाने समयमा पनि कोसेलीको रुपमा खानेकुरा पठाइदिने गरिन्थ्यो । यस पर्वमा छोरीलाई माइत खान बोलाउने गरिए पनि ज्वाँइलाई भने बोलाउने गरिदैनथ्यो तर अचेल छोरी ज्वाँइ दुबैलाई बोलाउने गरेको पाउँछौ ।

यस पर्वका प्रसंगमा हिन्दू आख्यानहरुमा भने केही बिशेष रुपले उल्लेख गरेको पाउँछौ । जसको महत्व हिन्दूहरुमा बिशेष पर्वका रुपमा पनि लिइने गरिन्छ । पौराणिक कथन अनुसार ईच्छा मृत्युको बरदान पाएका भिष्म पितामहले संक्रान्तिकै दिन मृत्युवरण गरेका थिए । महाभारतका युद्धमा अर्जुनको वाणबाट घाइते बनेका भीष्मसंग इच्छामृत्युको वरदान प्राप्त थियो । यसर्थ छ महिनासम्म शरशैयामा रहे पनि उत्तरायणका दिन मृत्युवरण गरेका थिए । यस दिन मृत्यु हुनेहरुले सिधै देवलोक प्राप्त गर्ने बिश्वास गरिन्छ ।

सोहीदिन भगिरथको लामो तपस्यापछि महादेवले बरदान स्वरुप आफ्नो शिरमा रहेको गंगालाई पृथ्वीमा अवतरण गराएका थिए । यसर्थ यस दिन हरेक नदीनालाहरुमा बिशेष रुपले मेला लाग्ने गर्दछ । र मेलामा तिर्थालुहरु नदी किनारमा नुहाउने गर्दछन् । यस दिन गंगामा नुहाउँदा मोक्ष प्राप्ति गर्ने बिश्वास गरिन्छ ।

पुराणमा वर्णित कथाका अनुसार सगर राजाले अश्वमेघ यज्ञका निम्ति छोडेको घोडा खोज्ने क्रममा कपिल मुनिको आश्रम पुगेका सगरका छोराहरुले कपिल मुनिलाई नै घोडा चोरेको आरोप लगाए पछि रिसले सगरका साठीहजार छोराहरुलाई भष्म गराइदिएका थिए । पछि यिनै सगरका बंशज भगिरथले कपिल मुनिसंग क्षमा मागेपछि भष्म भएका साठीहजार छोरालाई मुक्ति दिलाएका थिए । साथै भगिरथलाई तपस्या गरेमा गंगालाई सागर सम्म ल्याउने सकिने तपस्याका उपाय दिए पछि भगिरथ राजा तपस्यामा लिन भएका थिए । अन्तत आजैका दिन मकर संक्रान्तिमा महादेवको शिरमा रहेको गंगा सागरमा पुगेको थियो । तसर्थ यस दिन गंगा किनारमा उत्सवका रुपमा मेला लाग्ने गर्दछ । नेपालमा पनि देवघाट तथा पोखराको ढुङ्गेसाँघुमा मेला लाग्ने गर्दछ ।

किराँतहरु यसै दिनबाट नयाँ वर्षको शुभारम्भ मनाउँने गर्दछन् । काँचो तरुलको भित्री भाग नङले कोट्याएर निधारमा टाँसेर टीका लगाएपछि नयाँ वर्षको स्वागत गर्दछन । किराँतहरु आफ्नो सम्बतलाई किराँत राजा यलम्बरको सम्झनामा येले सम्बतको रुपमा मनाउने गर्दछन । यस सम्बतको ३८०२ साल यसै वर्षको माघ १ गते पुग्नेछ । केही बिवाद भए पनि यसलाई नै मान्यता प्रदान गरिएको देखिन्छ । यो सम्बत यलम्वर फाउन्डेशनबाट प्राप्त जानकारीको आधारमा लेखिएको हो । लिम्बुहरुले येले ताङबे, बान्तवा तथा राईहरुले येले दोङ तथा सुनुवारहरुले येले थोचेका रुपमा मनाउने किँरात नयाँ वर्षलाई केहीले भने येले सम्वत ५०८३ मनाउने गरेको पनि पाउँछौ ।

थारुहरुको माघी
माघ १ गतेको दिनबाट थारु समुदायको पनि नयाँ वर्षको शुभारम्भ हुने गर्दछ । यस दिनलाई थारूहरू माघको रूपमा मनाउने गर्दछन् । अचेल नाम परिवर्तन भएर माघी भए पनि पर्व भने उहि नै हो । माघी शुरु हुनु केही दिन अगाडि देखि नै यसको तयारी हुने गर्दछ । परिवारका सबै सदस्य आफ्नो कार्यक्षेत्रबाट छुट्टी लिएर परिवारका साथ पुग्ने गर्दछ । माघी भन्दा केही दिन अगाडि नै खोलामा माछा मार्नका लागि आफ्ना लागि खोलामा चिनो लगाउने गर्दछ । यसरी चिनो लगाउने कामलाई भ्युरा डर्ना (भ्युरा रखइना) भन्ने गरिन्छ । कसैले भ्युरा राखिसकेपछि त्यो ठाउँमा बसेर खोलामा माछा मार्न अरुले पाउँदैन । पुसको मसान्तका दिन भ्युरा राखेको ठाउँमा बसेर माछा मार्ने काम गरिन्छ । साथै यसैदिन सुंगुर काट्ने गरिन्छ । यस दिनलाई थारुहरु जिटा मरना दिन भन्ने गरिन्छ । यसै दिनमा थारु समुदायमा ढिकरी खाने गरिन्छ । पश्चिम नेपालमा बस्ने थारु समुदायमा हरेक पर्वमा ढिकरी खाने गरिए पनि माघीका दिन पकाइने ढिकरी भने लामो हुने गर्दछ ।

चामलको पिठो मुछेर लाम्चो बनाएर उसिनेर बनाउने ढिकरी माघीमा लामो बनाउनुको कारण आजबाट लामो दिनको शुरुवात भयो भन्ने पनि हो । दोश्रो यस प्रकारको लामो ढिकरी खाएमा लामो आयु प्राप्त हुने बिश्वास पनि थारु समुदायमा गर्ने गरिन्छ । त्यस्तै मध्य नेपालमा रहने थारु समुदायमा ढिकरीको ठाउँमा चामलको भत्कुन खाने चलन रहेको छ । चिचर भनेको एक प्रकारले भात जस्तै हो । चामललाई अघिल्लो दिन नै बफाएर राखिन्छ । भोलिपल्ट बफाएर राखेको चामल जसलाई थारुहरु चिचर भन्ने गर्दछन् त्यसलाई भोर्लोको पातमा केराको दाम्चाको रेशाले बाँधेर आगोमा पोलेर बनाइएको डल्लो भात भत्कुन तैयार गरिन्छ । भोलिपल्ट माघीको दिन बिहानै खोलामा गएर नुहाउन जान्छन जसलाई माघ लहानु भनिन्छ । नुहाएर फर्के पछि भत्कुन खाने गर्दछन् । साथमा मासको दाल र चामल मिसाएर पकाएको खिचडी पनि खाने गर्दछन् । तर पूर्वका थारुहरुमा भने भत्कुन तथा ढिकरी खाने प्रचलन खासै छैन । यता भने बरारी मछली तथा सखरखण्ड खाने प्रचलन रहेको छ । साथै साँझ ढमार गाउदै मघौटा नाच नाच्ने गर्दछन् । थारू समुदायमा पनि चेलीबेटीलाई उपहार दिने गर्दछन् । जसलाई निसराउ भन्ने गरिन्छ ।

मगर समुदायको माघ्या सकराती
मगर समुदायले यस दिनलाई माघ्या सकराती भन्ने गर्दछन् । यस दिन खोला किनारमा गएर नुहाइ धुवाइ गरेपछि केराको पातमा एक माना चामलमा एक माना कालो दाल मिसाएर पानीले मुछेर नौ वटा डल्ला बनाएर सो डल्लामा बेसार अदुवा राखी पितृको प्रतिकको रुपमा घ्यूको बत्ति बालेर पितृ पूजा गर्दछन, जसलाई ‘डि डाँके’ भनिन्छ । अघिल्लो रात देखी नै कौराहा, झ्याउरे, हुर्रा, सोरठी तथा घाटु नाच्दै मनाउछन् ।

दिदीबहिनीलाई पूजे पछि दिदीबहिनीलाई मिश्रो बाड्ने गरिन्छ । चामल, फलफूल, तरुल तथा रोटीहरु सहितको उपहारलाई नै मगर भाषामा मिश्रो भन्ने गर्दछन् । कतै कतै निस्रो बाड्ने पनि भन्ने गरिन्छ । साथै आफन्तहरुलाई पनि बोलाएर ख्वाउने पनि गरिन्छ । यसका साथै मगर समुदायमा चेलीबेटीहरु जम्मा भएर मस्यान्द्रा माग्ने पनि गर्दछन् । देउसी खेले झै गरेर चेलीबेटीहरु मस्यान्द्रा माग्न घर घरमा जाने गरिन्छ । मस्यान्द्रा माग्न जाने चेलीबेटीले घरबेटीलाई झोम्पलेनी लगाइदिने गर्दछ । दशैको जमरा झै जौ को पात मात्रै निस्केको बिरुवालाई घरबेटीको कानमा लगाइ दिएर मस्यान्द्रा माग्ने गरिन्छ । यसरी मस्यान्द्रा माग्न आएका टोलीलाई घरबेटीले सालको टपरीमा चामल, गहुँ, फापरको रोटी तथा पैसा सहित दिएर पठाउने गरिन्छ । यसरी मस्यान्द्रा जम्मा गरेपछि समय मिलाएर सबै मिलेर वनभोज खान जाने गरिन्छ ।

नेवाःहरूको घ्यःचाकु सँल्हु
माघे संक्रान्तिलाई नेवाःहरू “घ्यःचाकु संल्हु“ भन्ने गर्दछन् र यस दिन घ्यू, चाकु, तिलको लड्डुको साथमा वन तरुल वा तरुलको साथमा सखरखण्ड पनि खाने गर्दछन् । शरिरमा शक्ति प्राप्त हुने तत्वको रुपमा काँचो घ्यूको डल्लोका साथ चाकु खाने गरिएको हो । यस दिन बिबाहित महिलाहरुले आफ्नो घरको केही खानु हुदैन भन्दै माईत बोलाएर खुवाउने चलन रहेको थियो । साथै यस दिन छोरीलाई मात्र माइत बोलाएर खुवाउने गरिन्छ । यस दिन भने ज्वाइलाई भने बोलाईदैन । तर अचेल भने खासै त्यस्तो केही मान्यता रहेको देखिदैन ।

मैथिलीहरुको तिला संक्रान्ति
मैथिलीहरू तिला संक्रान्तिको रूपमा बाबुआमाहरू आफ्नो सन्ततिलाई सख्खर र तिल खुवाउछन् । यस दिन अबिबाहित महिलाहरु सुयोग्य पति पाउने अभिलाषाले तुसारी पर्व मनाउँछन । भने बिबाहित महिलाहरु पृथ्वी पर्व मनाउँछन ।

पश्चिम नेपालको चेलीत्यार
पश्चिम नेपालमा यस चाडलाई चेलीत्यारको रूपमा चेलीहरूको विशेष चाडको रूपमा मनाउछन् । रातभर मुहान वा पधेरोमा आगो बालेर देउडा नाच्ने गर्दछन् । भोली पल्ट संक्रान्तिको दिन पूजा गरिसकेपछि चेली बेटीलाई पोका बनाएर रोटी र तरूल बाड्ने गरिन्छ ।

विभिन्न ठाउँमा यस दिन लाग्ने मेला
– रिडीको रूरू क्षेत्रमा पनि ठूलो मेला लाग्ने गर्दछ ।
– देवघाटमा पनि निकै ठूलो मेला लाग्ने गर्दछ ।
– पोखरामा पनि ढुङ्गेसाँघुमा मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया