आइतबार, पुष ६, २०८२

यूनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सबिच मर्जर सम्झौंता

नेपालखोज २०७९ माघ २ गते १६:५२

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबिच मर्जर सम्वन्धी सम्झौता भउको छ । आईतबार तीन वटै संस्थाहरुबिच एक अपसमा मर्जर गर्ने अन्तिम संझौता पत्रमा हस्ताक्षर भएको हो । सो सम्झौता पत्रमा यूनियन लाईफका अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफका अध्यक्ष पियुष राज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात १ः१ः१ कायम गरिएको छ । मर्जर संझौता अनुसार नयाँ बन्ने कम्पनीको नाम हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड रहने छ भने यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष शुलभ अग्रवाल नयाँ बन्ने कम्पनीको अध्यक्ष रहने छन् ।

यस्तै यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण मर्जर पश्चात बन्ने नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहने छन् । सम्झौता अनुसार मर्जर सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु सम्पन्न गरी २०७९ चैत्र भित्र एकिकृत कारोवार गर्ने समयावधि निर्धारण गरिएको छ भने कम्पनीका शाखाहरु, कर्मचारी समायोजनका कार्यहरु समेत सम्पन्न गरिने छ ।

मर्जर संझौता कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले तीन वटा कम्पनीहरु एक आपसमा मर्जर हुनु ऐतिहासिक कार्य भएको बताउदै नियमनकारी निकायको तर्फबाट मर्जर कार्यमा पूर्ण सहयोग रहने जानकारी गराए । यसैगरी नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले मर्जर सम्झौता सफल बनाउन प्राधिकरणको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने बताए ।

प्रतिक्रिया