हत्याको २१ वर्ष : नयाँ संसदले मुक्तिनाथ अधिकारीलाई न्याय देला त ?

काठमाण्डौं । २०६३ साल मङ्सिरमा विस्तृत शान्ति प्रक्रिया सुरू भएयता नेपालमा चार चार पटक जनप्रतिनिधिहरू चुनिएर आइसकेका भए पनि अहिलेसम्म सत्य र न्यायको कुनै पनि सङ्केत बिना स्वर्गीय मुक्तिनाथ अधिकारीका परिवारका सदस्य र आफन्त तथा अधिकारकर्मीहरूले उहाँको निर्मम हत्याको २१औँ स्मृति दिवस मनाउँदैछन् ।
तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताहरूले चन्दा दिन इन्कार गरेको भन्ने आरोपमा २०५८ साल माघ ३ गते लमजुङमा अधिकारीको निर्ममतापूर्वक हत्या गरेका थिए । उनलाई माओवादीका कार्यकर्ताहरूको एक समूहले कक्षा कोठाबाट आँखामा पट्टी बाँधेर अपहरण गरी नजिकैको थुम्कोमा लगेर रूखमा बाँधी छुरा रोप्दै टाउकोमा गोली प्रहार गरेर हत्या गरेका थिए । मुक्तिनाथ दुराडाँडास्थित पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापक एवं लमजुङस्थित एम्नेस्टी इन्टरनेसनल नेपालको स्थानीय समूहका संयोजक पनि थिए ।
त्यसयता अधिकारी परिवारले न्यायका लागि नेपालमा उपलब्ध सबै ढोकाहरू ढक्ढक्याएका छन् । तर परिणाम शुन्य छ । नियमित न्यायिक संयन्त्रका रूपमा रहेको प्रहरी प्रशासन, राष्ट्रिय मानवअधिकार आयोग र संक्रमणकालीन न्याय निरुपणका लागि गठित संयन्त्र सत्य निरुपण तथा मेलमिलाप आयोग मा दर्ता गरिएको उजुरीहरूमाथि कुनै कारबाही नहुँदा परिवारमाथि थप पीडा भएको छ ।
‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग सम्बन्धी कानुन संशोधन गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई सात वर्षसम्म बेवास्ता गरिनु र यी आयोगमा दुई दुई पटक आयुक्तहरू नियुक्त भई ६ वर्षभन्दा बढी समय कार्य गर्दा समेत कुनै एउटा पनि घटनामा सत्य र न्याय निरूपण नहुनु साह्रै खेदजनक छ’ मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारीले भने, ‘पीडितहरू वर्षौंसम्म पनि सत्य, न्याय र परिपूरण बिना तड्पिरहनु लाजमर्दो कुरा हो ।’
फरक विचार व्यक्त गर्ने तर कुरै नगरौँ स्वतन्त्र रूपमा बोल्न समेत कठिन त्यस समयमा मुक्तिनाथ अधिकारी अन्याय र हिंसाका विरुद्ध खडा मात्र हुनुभएको थिएन उनले आफ्ना विद्यार्थीको मस्तिष्कमा मानवअधिकारका मूल्यहरूलाई जगाउने काम समेत गर्नुभएको थियो ।
‘स्वर्गीय अधिकारी नेपालको एम्नेस्टी अभियानका एक सक्रिय र महत्त्वपूर्ण सदस्य हुनुहुन्थ्यो र हामी उहाँको हत्याको भत्सर्ना मात्र नगरी उनको हत्यालाई मानवअधिकार रक्षकहरूले गर्ने मानवअधिकार रक्षाको कर्ममाथि भएको एउटा निर्मम र घृणित आक्रमणको रूप लिइरहनेछौँ,’ एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले भने, ‘आजभन्दा २१ वर्षअघि स्वर्गीय अधिकारीको निर्मम हत्यामा शोक व्यक्त गरिरहँदा कुनै पनि खाले हिंसा र अन्यायविरुद्ध खडा भएर आवाज उठाउने हाम्रो सङ्कल्प झन् बढी दृढ भएको छ ।’
मुक्तिनाथ अधिकारीको निर्मम हत्या द्वन्द्वका क्रममा राज्य र विद्रोही समूह दुवै पक्षहरूले गरेका हजारौं मानवअधिकार उल्लङ्घनका घटनाहरूमध्येको एक प्रतिनिधिमूलक घटना हो । द्वन्द्व अन्त्य भएको १७ वर्ष बितिसक्दा पनि अलपत्र परेको सत्य, न्याय र परिपूरणको मुद्दाको शीघ्र समाधानका लागि पीडित र अधिकारकर्मीहरूले लामो समयदेखि निरन्तर आह्वान गर्दै आएका छन् ।
मुक्तिनाथ अधिकारीलाई निर्ममतापूर्वक हत्या गरिएको २१ औँ वार्षिक स्मृति दिवसका सन्दर्भमा स्वर्गीय मुक्तिनाथ अधिकारीको सम्मानमा मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इन्टरनेसनल नेपाल दुई संस्थाले आज माघ ३ गते काठमाडौँमा एक स्मृति कार्यक्रम आयोजना गर्दैछन् ।
श्रोतः आइएनएस–स्वतन्त्र समाचार
प्रतिक्रिया