मधेस प्रदेशका सभामुख र उपसभामुखको शपथ

नेपालखोज २०७९ माघ ४ गते १३:३०

धनुषा । मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत इशरले पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेस भवनमा आज उनीहरूलाई प्रदेश प्रमुख हरिशङ्कर मिश्रले पद तथा गोपनीयताको शपथ गराए ।

सभामुख र उपसभामुखको शपथ कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, विना विभागीयमन्त्री सरोजकुमार यादव लगायतको उपस्थिति थियो । मण्डल र इशर मङ्गलबार नै मधेस प्रदेशको सभामुख र उपसभामुखमा निर्वाचित भएएका हुन् । मङ्गलबार बसेको प्रदेशसभा बैठकमा मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ७४ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो । कूल एक सय सात सदस्यीय प्रदेशसभामा एक सय तीन सदस्यले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिए।

मण्डललाई सत्ता गठबन्धन दल नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), जनमत, लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा, नेपाल सङ्घीय समाजवादी पार्टी र स्वतन्त्रको समर्थन थियो । यसैगरी जनमत पार्टीका उम्मेदवार इशरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षम ७२ मत प्राप्त भएको थियो । उनको विपक्षमा २९ मत खसेको थियो । उपसभामुखको निर्वाचन प्रक्रियामा एक सय एक सदस्यले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया