अब गाइडको साथमा हलेसी घुम्न पाइने

खोटाङ । अब पूर्वको पशुपति भनेर परिचित हलेसी महादेवस्थान गाइडको साथमा घुम्न पाइने भएको छ । सोही उद्देश्यको साथमा हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय युवाहरुलाई तालिम प्रदान गरेको छ । आठ दिने तालिममा २५ युवा सहभागी छन् ।
हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने पर्यटक तथा भक्तजनलाई त्यहाँको आधिकारिक महत्व बुझाउँदै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका तालिमको आयोजना गरिएको मेयर बिमला राईले जानकारी दिइन् । उनले भनिन्, ‘हलेसी तथा आसपासका धार्मिक एवं पर्यटकीयस्थलको महत्वका बारेमा आआफ्नै तवरले वर्णन गर्दै आइएको छ । आगामी दिनमा आधिकारिक गाइडबाट आधिकारिक महत्व मात्र जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरेका हौं ।’
‘नेपाल एकेडेमी अफ टुरिज्जम एण्ड होटेल म्यानेज्मेन्ट’ (एनएटिएच)सँगको सहकार्यमा नगरपालिकाले दिएको तालिमको सहजीकरण एनएटिएचका विभागीय प्रमुख अजयकुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डङ्गोल, सहप्राध्यापक तथा संस्कृतिविद् डा लोकनाथ दुलाल, बौद्ध धर्म गुरु पुण्यप्रसाद पराजुली र किराँत मुन्धुम अध्येता भोगीराज चाम्लिङ राईले गरेका थिए ।
तालिममा सहभागी युवालाई सूचीकृत गरेर आधिकारिक गाइड राखिने नगरपालिकाले जनाएको छ । उनीहरुको पारिश्रमिकका विषयमा नगर कार्यपालिकाको बैठक बसेर निर्णय गरिने वडाध्यक्ष एवं नगर प्रवक्ता गिरीले जानकारी दिए ।
धार्मिक तथा साँस्कृतिकरुपले विश्व प्रसिद्ध हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफालगायत अवलोकन गर्न र पूजाआजा गर्न नेपालका विभिन्न जिल्लासँगै भारत, चीन, बङ्गलादेश, भूटान तथा अमेरिका, दक्षिण कोरियालगायत विभिन्न देशबाट पर्यटक एवं भक्तजन आउने गरेका छन् ।
हलेसीमा हिन्दू, बौद्ध र किराँत धर्म मान्ने आआफ्नै तरिकाले पूजापाठ गर्दै आएका छन् । हिन्दू धर्ममा आस्था राख्नेले यसलाई पशुपतिनाथ, बौद्ध धर्मावलम्बीले दोस्रो लुम्बिनी तथा किराँत धर्मावलम्बीले आदिम भूमि मान्ने गरेका छन् ।
दैनिक सयौँको सङ्ख्यामा पर्यटक र भक्तजनको भीड लाग्ने हलेसीमा चैतमा रामनवमी मेला १५ दिन, मङ्सिरमा बालाचतुर्दशी मेला १२ दिन, फागुनमा शिवरात्रि मेला सात दिन र भदौमा तीज मेला तीन दिन लाग्ने गरेको छ । मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीको मेला भर्न तथा पूजाआजा गर्न आउने पर्यटक तथा भक्तजनको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
प्रतिक्रिया