प्रधानमन्त्री भेट्न बालुवाटार पुगे कांग्रेस नेता रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल सभामुखको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटार पुगेका छन् । बिहीबार बिहान उनले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । दुई नेताबीच सभामुख निर्वाचनको पेरिफेरीमा छलफल भएको बताइएको छ ।
सभामुखको निर्वाचन आज हुँदैछ । सत्ता गठबन्धनले एमाले नेता देवराज घिमिरेलाई र विपक्षी गठबन्धनले कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएका छन् । आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ ।
सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दकशपछि यसरी बहुमतीय प्रक्रियाअन्तर्गत निर्वाचन हुन लागेको हो । यसअघि २०५१ मा बाहेक त्यसपछि सर्वसम्त सभामुख चयन भएको थियो । यसपटक सत्ता गठबन्धनका तर्फबाट एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरे झापा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदसस्य हुन् ।
सत्ता गठबन्धन बाहिर रहेको कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेवदार बनाएको छ । दाङकी न्यौपाने भने समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । सभामुख निर्वाचित हुनका लागि बहुमत ल्याउनुपर्नेछ । त्यसका लागि २७५ सदस्यमा निर्वाचित हुन १३८ ल्याउनु पर्नेछ । सत्ता गठबन्धनका उम्मेदवार देवराजलाई यो सहज हुने देखिन्छ ।
सत्ता गठबन्धनमा रहेका चार दल एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा १४५ मत हुन्छ । यसअघि सरकारलाई समर्थन गरेका जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी भने अहिले केही असन्तुष्ट देखिएका छन् । उनीहरूले सभामुखबारे कुनै निर्णय गरिसकेका छैनन् ।
यता कांग्रेसकी न्यौपानेको पक्षमा भने पार्टीकै ८८ मत छ भने एकीकृत समाजवादीको १० मत रहेको छ । यो जोड्दा उनको बहुमत पुग्दैन । बाँकी दलहरू लोकतान्त्रिक समाजवादी, नेमकिपा र जनमोर्चाले पनि निर्णय गरिसकेका छैनन् । यदि उनीहरूले पनि मत हालेको खण्डमा पनि न्यौपानेको बहुमत नपुग्ने अवश्था छ ।
प्रतिक्रिया