शुक्रबार, असार १३, २०८२

चित्रबहादुर केसीले उठाए गृहमन्त्री र सहरीमन्त्रीमाथि प्रश्न ?

नेपालखोज २०७९ माघ ५ गते १५:५१

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गृहमन्त्री रवि लामिछाने र सहरी विकासमन्त्री विक्रम पाण्डेको नैतिक चरित्र र उनीहरुको विगतको रेकर्डमाथि प्रश्न उठाउँदै सरकारको असली रूप देखिएको बताएका छन् । उनले नयाँ आउने पार्टी र सांसद तथा मन्त्रीहरूको पनि असली रूप देखिन लागेको भन्दै त्यसले दुर्घटनातर्फ लैजाने संकेत गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा दुइमन्त्रीको उदाहरण दिँदै उनले हलो काट्न गएका सबै भीरतिर पुगेको कहानी सुनाएका छन् ।

केसीले भने, ‘सातजना दाजुभाइ हलो काट्नका लागि रुख ढाल्न गएछन् । दुई भाइले ढाल्न थालेछन् । बाँकी चार भाइले रुख उभोतिर तान्न रुखमा बाँधेको डोरी कम्मरमा बाँधेर बसेछन् । बडेमानको रुख तिनीहरूले किन थेग्न सक्ने । भीरबाट पाँचै भाइ ढल्न गएछन् । बाँकी दुई भाइ पनि उनीहरूले हलो रोज्छन् भनेर त्यतै गएछन् । यस्तै भयो अहिले ।’ उनले नयाँ भनिएका पार्टीहरू पनि रुख ढाल्ने दुईजनाजस्तै भएको र पुरानाहरूतिरै हामफालेको बताए ।

उनले गृहमन्त्रीको रेकर्ड सहरिया मन्त्रीको रेकर्ड के छ भनेर हेर्न आग्रह गर्दै स्वार्थ बाझिने व्यक्तिहरू मन्त्री बनाउने परम्परा नयाँदेखि पुरानासम्म कसैले नछोडेको बताए । प्रमुख प्रतिपक्ष दाबी गरिरहेको नेपाली कांग्रेसलाई पनि उनले कटाक्ष गर्दै भने, ‘अस्ति प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांगेस अहिले कुन मुखले आफूलाई प्रतिपक्ष दाबी गर्दै छ ।’ उनले व्यवस्था परिवर्तनका लागि सबै लडेको भन्दै त्यसको व्यवस्थापन गर्ने र जनताको विश्वास बढाउने विषयमा कोही पनि जिम्मेवार नदेखिएको बताए ।

तत्कालीन संसद् विघटनलाई आफूले अहिले पनि प्रतिगमन भनिरहेको भन्दै उनले त्यसो भन्ने अरू पार्टीहरू परिवर्तन भइसकेको बताए । अध्यक्ष केसीले सरकार बन्नुभन्दा अघि ठूला-ठूला कुरा गर्ने दल र सांसदका यथार्थ सरकार बनेपछि सार्वजनिक भएको बताए । केसीले अहिलेको संसद्को तस्बिर असाध्यै डरलाग्दो देखिएको बताए । लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षी हुने भए पनि प्रधानमन्त्रीको चुनावमा नाटक देखाएको केसीले बताए ।

उनले भने, ’संसद्मा सत्तापक्ष हुन्छ, प्रतिपक्षी हुन्छ । हामीले अन्त देखेको पनि त्यही हो, नेपालमा पनि पहिले देखेको त्यही हो । तर प्रधानमन्त्रीको चुनावमा नाटक देखियो ।’ केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछाने र सहरी विकासमन्त्री विक्रम पाण्डेप्रति इंगित गर्दै भने, ’सरकार बन्नुभन्दा अगाडि कस्ता-कस्ता ठूला-ठूला कुरा आएका थिए । सरकार बनेपछि कसको के छ रेकर्ड रु गृहमन्त्रीको के छ रेकर्ड रु सहरिया मन्त्रीको के छ रेकर्ड रु’

नेपालको लोकतन्त्र धराप परेको र यसलाई बचाउन आवश्यक रहेको उनले बताए । त्यस्तै चुनावमा गरिएका वाचा पनि दल र नेताहरूले बिर्सिएर गठबन्धन बनाएको उनको भनाइ छ । ’सत्ताका लागि इमानजमानको कुरा पनि नहुने,जनतासँग गरेका प्रतिबद्धताका कुरा पनि नहुने,’ उनले भने । नागरिकता छानविन र भ्रष्टचारका मुद्दा अब संसदमा उठाउन नमिल्ने अवस्था आएको उनको भनाइ छ । सरकार र संसदमा सबै खाले पृष्टभूमी भएकाहरुलाई एकै ठाउँमा राखिनु गलत परम्पराको सुरुवात भएको केसीले बताए ।

प्रतिक्रिया