वैदेशिक रोजगार ऐन परिमार्जन हुन्छ : अर्थमन्त्री पौडेल

काठमाण्डौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगार ऐन, २०६४ परिमार्जन गरी समय सान्दर्भिक बनाउने बताएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको शुक्रबार हुने निर्वाचनमा राजेन्द्र भण्डारी अध्यक्ष उम्मेदवार रहेको समूहको चुनावीसभालाई सम्बोधन गर्दै उनले सम्बन्धित निकायको सल्लाह र सुझावका आधारमा जतिसक्दो चाँडो व्यावसायिक कल्याणकारी कोषसम्बन्धी निर्देशिका ल्याउने बताए ।
उनले वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै वैदेशिक रोजगार व्यवसायी र वैदेशिक रोजगार व्यवसायीमा जाने श्रमिकको आपसी सम्बन्धलाई पनि सन्तुलित र मर्यादित बनाउनुपर्नेमा जोड दिए । सोही अवसरमा बागमती प्रदेशका विना विभागीयमन्त्री उद्धव थापाले वैदेशिक रोजगारीमा देखिएका समस्यालाई ऐनमा परिमार्जन गरेर समाधान गर्नुपर्नेमा जोड दिए ।
भण्डारी नेतृत्वको प्रगतिशील–व्यावसायिक समूहले वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउनेलगायत ४६ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । वैदेशिक रोजगार व्यवसायीको व्यावसायिक एकता र पेशागत हकहितको संरक्षणका लागि स्थापित छाता सङ्गठनका रूपमा आजभन्दा ३० वर्षअघि सङ्घको स्थापना भएको हो ।
सङ्घले वैदेशिक रोजगार ऐन, २०६४ को थप परिमार्जन गरी व्यावसायिक तथा श्रमिकमैत्री बनाउनुपर्ने र अन्तर्राष्ट्रिय प्रचलनअनुसार कामदारले पाउने एक महिनाको तलब बराबरको रकम व्यवसायीले सेवा शुल्कवापत लिन पाउने व्यवस्था हुनुपर्नेलगायत विभिन्न माग गर्दै आएको छ ।

प्रतिक्रिया