जनमतलाई थप एक मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनमत पार्टीलाई थप एक मन्त्रालय दिने मुडमा पुगेका छन् । सोही अनुरुप उनले जनमत पार्टीसँग आइतबारसम्मको समय मागेका छन् ।
सुरुमा पाएको मन्त्रायले खोसिएपछि जनमत प्रधानमन्त्रीसँग रुष्ट भएको थियो । सुरुमा दिइएको उद्योग हटाएर खानेपानीमा पुर्याइदिएपछि जनमतका अध्यक्ष सिके राउतले भेटेरै प्रधानमन्त्रीलाई गुनासो राखेका थिए ।
पार्टीभित्र छलफल गरेर आइतबार टुंगोमा पुग्ने वचन प्रम प्रचण्डले दिएको स्रोतको दाबी छ । खानेपानी मन्त्रालयलाई जनमतले अस्वीकार गरेको छ । उसले कुनैपनि सांसदलाई खानेपानी सम्हाल्न पठाएका छैनन् । मन्त्रालयकै विषयलाई लिएर प्रधानमन्त्रीसँग राउतको राम्रै खटपट चलेको छ ।
प्रचण्डसँग अहिले वन तथा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय मात्र बाँकी छ । यसअघिका प्रचलनलाई तोडेर उनले गृह, अर्थ मन्त्रालय सत्ता साझेदार दललाई दिएका छन् । यसकारण उनलाई निरीह प्रधानमन्त्रीको रुपमा चर्चा समेत चलेको छ । जनमतलाई खानेपानीमा पुर्याउन भूमिका एमालेका अध्यक्ष केपी शर्माले खेलेका थिए ।
जनमतले खानेपानी नै लिनुपर्ने भए थप एक मन्त्रालय पाउनुपर्ने दाबीलाई अडान बनाएको छ । थप मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको निर्णय लिने तहमा जनमत पुगेपछि प्रम प्रचण्ड पछाडि हट्दै गएका छन् ।

प्रतिक्रिया