कांग्रेसकी मुक्ताकुमारीले दर्ता गराइन् उपसभामुखमा उम्मेदवारी

काठमाडाैं । शनिबार हुन गइहरेको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उम्मेदवारी गराएकी छन् ।
संघीय संसद भवन परिसरमा पुगेर उनले शुक्रबार दिउँसो उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन् ।
कांग्रेसले एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालगायत दलहरूसँग छलफलपछि उपसभामुखमा उम्मेदवारी दिएको छ।
यादव धनुषाबाट समानुपातिकतर्फबाट कांग्रेस सांसद हुन् । कांग्रेसको काठमाडौ.मा १४औं महाधिवेशनमा उनले सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य जितेकी थिइन् । शिषण पेशाबाट राजनीतिमा आएकी उनी दोस्रो संविधान सभामा सभासद र २०७४ सालमा मधेश प्रदेशबाट राष्ट्रियसभा सांसद बनेकी थिइन् ।
यस्तै, बिहीबार सम्पन्न सभामुख निर्वाचनमा कांग्रेसले ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार उठाएको थियो । तर सत्ता गठबन्धनबाट उम्मेदवार उठेका एमालेका देवराज घिमिरेसँग पराजित भइन् ।
उपसभामुखमा सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले आजै उम्मेदवारी दिएकी छन् । उपसभामुखको निर्वाचन भोलि शनिबारा दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा हुने संघीय संसदको सचिवालयको कार्यतालिका छ ।

प्रतिक्रिया