मंगलबार, वैशाख १६, २०८२

विमान दुर्घटनापछि पर्यटन क्षेत्र प्रभावित

नेपालखोज २०७९ माघ ७ गते ८:२६

काठमाडाैं । माघ महिनाको सुरुकै दिन यती एयरलाइन्सको विमान दुर्घटना हुँदा पर्यटन क्षेत्र प्रभावित बनेको छ । उक्त दुर्घटनापछि आन्तरिकदेखि बाह्य पर्यटक पोखरा आउने क्रम घटेको छ । विदेशी पर्यटक र आन्तरिक पर्यटकको आगमन प्रभावित बनेको पर्यटन व्यवसायी बताउँछन् ।

पर्यटनका लागि ‘अफ सिजन’ भए पनि आउनुपर्ने पर्यटक नआएको व्यवसायीको भनाइ छ । होटेल दियोका सञ्चालक ईश्वरी पाण्डेले यतिखेर पर्यटन क्षेत्र अफ सिजन भएको बताए । उनले अहिले पोखरामा भारतीय पर्यटक र केही आन्तरिक पर्यटक रहेको जानकारी दिए ।

पाण्डेले विमान दुर्घटनापछि पोखरा आउने आन्तरिकदेखि बाह्य पर्यटकको आगमन कमी भएको अनुभूति भएको सुनाए । ‘हुन त यो समय अफ सिजन हो, त्यही पनि विमान दुर्घटनाले उडेर आउने पर्यटकलाई प्रभाव पारेको छ। पर्यटक आउन डराएका छन् । विदेशीले पनि हवाई यात्रा रद्द गरेका छन्,’ उनले भने ।

उनका अनुसार अहिले बढीमा ३० प्रतिशत मात्र ‘अकुपेन्सी’ रहेको छ। उडान प्रभावित हुँदा गोष्ठी, बैठकसमेतका कार्यक्रम रद्द भएको उनले सुनाए । बाटो अप्ठ्यारो हुँदा हवाई माध्यम रोज्नेहरू पनि दुर्घटनापछि उड्न डराएको उनको आकलन छ । ‘विमान दुर्घटनापछि नराम्रो सन्देश फैलियो । विमान उडानबारे फैलिएका अफवाहले गर्दा हवाई यात्रुको यात्रा रोकिएको छ । त्यसमाथि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा फरक–फरक तरिकाले यो दुर्घटनाबारे व्याख्या गरियो। जसका कारणले गर्दा आउन चाहेका पाहुना पनि त्रसित बन्न पुगे । त्यसको मार पर्यटन क्षेत्रमा परेको छ,’ उनले भने ।

पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहेको हुँदा यात्रा अवधि लम्बिएको छ। त्यसबाहेक दुर्घटनापछि पोखराको मौसममा पनि खराबी देखिँदा झनै प्रभावित भएको पाण्डेको भनाइ छ ।

होटेल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी विमान दुर्घटनाका कारणभन्दा पनि पर्यटनका लागि अफ सिजन भएकाले आगमनमा कमी आएको बताउँछन् । ‘पर्यटनका लागि ‘सिजन’ र ‘अफ सिजन’ भन्दै आएकोमा अहिले ‘हाई सिजन’ र ‘लो सिजन’ भन्न थालिएको छ। अहिले लो सिजन हो । प्रभाव विमान दुर्घटनाले पारे पनि जनवरी र फेब्रुअरी महिना पर्यटनका लागि अफ सिजन हो,’ उनले भने । विमान दुर्घटनाअघि आन्तरिक पर्यटक घुम्न आएको देखिए पनि अहिले त्यस्तो नभएको उनको भनाइ छ। उनले कतिपय हल्लाले पनि आगमनलाई समस्या ल्याएको बताए । ‘विदेशी पर्यटकले इन्क्वाइरी (सोधखोज) गरिराखेको अवस्था छ। यहाँका होेटेलमा ४० हजार ‘बेड’ सङ्ख्या भएकोमा अहिले दुई हजार मात्र पर्यटक छन्’ उनले भने । समग्र पाँच प्रतिशत मात्र ‘अकुपेन्सी’ रहेको उन को भनाइ छ। यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ

प्रतिक्रिया