आइतबार, जेठ ६, २०८१

कहाँ–कहाँ छ, नो फ्लाई जोन ?

नेपालखोज २०७९ माघ ७ गते ८:४३

काठमाडौं । हालै सामाजिक सञ्जालमा संसारका कुन कुन ठाउँमा विमान वा हवाइजहाज उड्न सक्दैन भन्ने चर्चा चलेको छ । पोखरामा भएको भीषण दुर्घटनामा एकजना पनि बाँच्न नसकेपछि यो चर्चा चर्किएको हो । नो फ्लाई जोन स्थायी र अस्थायी दुवै तरिकाका हुन्छन ।

कुनै पनि राष्ट्रिय वा अन्य महत्वपूर्ण कार्यक्रमका लागि सरकारले उक्त स्थानलाई केही समयका लागि नो फ्लाई जोन घोषणा गर्छ । कहिलेकाहीँ युद्ध क्षेत्रलाई पनि नो फ्लाई जोन घोषणा गरिन्छ । यद्यपि यी सबैका बावजुद विश्वमा केही यस्ता ठाउँ छन् जसलाई स्थायी नो फ्लाई जोन घोषित गरिएको छ ।

डिज्नी पार्क, क्यालिफोर्निया : डिज्नी पार्क संसारभरका मानिसहरू माझ प्रसिद्ध छ । यो ठाउँ साधारण मानिसले कल्पना गर्न नसक्ने रूपमा जादुई छ । त्यसैले अमेरिकाको क्यालिफोर्नियास्थित डिज्नी पार्कमा विमानको उडानमा प्रतिबन्ध लगाइएको छ । मिडिया रिपोर्टहरु अनुसार ९÷११ पछि डिज्नी पार्क सहितको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरिएको हो ।

तिब्बत : तिब्बतलाई विश्वको सबैभन्दा अग्लो क्षेत्र मानिन्छ । उक्त क्षेत्रको औसत उचाइ १६ हजार फिटसम्म छ । यो सुन्दर ठाउँको सिमाना भित्र अग्ला हिमाल भएकाले हवाईजहाज उडान निषेध गरिएको छ । यो ठाउँ लाइ यात्रुहरूको सुरक्षाका लागि नो फ्लाई जोन घोषित गरिएको हो ।

माचू पिच्चू : विश्वका सात आश्चर्यमा परेको पेरुको माचु पिचु पनि उडान निषेधित क्षेत्र हो । यो प्रसिद्ध पर्यटकीय गन्तव्य हो जसलाई हेर्न विश्वभरका पर्यटकहरु पुग्छन् । यो ऐतिहासिक स्थान दक्षिण अमेरिकी देश पेरुमा अवस्थित छ । यो ठाउँ उरुबाम्बा उपत्यका माथिको पहाडमा समुन्द्र सतहबाट २,४३० मिटरको उचाइमा अवस्थित छ । यो स्थान यसको ऐतिहासिक र सांस्कृतिक महत्वका साथै दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रसिद्ध छ जुन यहाँ मात्र पाइन्छ ।

मक्का : यो इस्लाम धर्मको सबैभन्दा महत्त्वपूर्ण धार्मिक र ऐतिहासिक स्थान हो । कुनै पनि यात्रुवाहक विमानलाई मक्का, विशेष गरी पवित्र काबामाथि उडान गर्न अनुमति छैन । यो हज यात्राको अन्तिम गन्तव्य र इस्लामिक विश्वासको केन्द्रको रूपमा प्रसिद्ध छ ।

ताज महल : भारतको आगरामा अवस्थित ताजमहल विश्वको वास्तुकलाको सबैभन्दा प्रतिष्ठित र सबैभन्दा सुन्दर सम्पदा मध्ये एक हो । ताजमहलको महत्वलाई ध्यानमा राख्दै युनेस्कोले यसलाई १९८३ मा विश्व सम्पदा स्थल घोषित गरेको थियो । यो ताजमहल माथिबाट विमान पनि उड्न सक्दैनन् । भारत सरकारले ताजमहल र त्यहाँ आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै सन् २००६ मा यसलाई नो फ्लाई जोन घोषणा गरेको थियो ।

बकिंघम प्यालेस : युनाइटेड किङडमको बकिंघम प्यालेस पनि उडान निषेधित क्षेत्र हो । यो बेलायती शाही परिवारको कार्यालय र प्रतीक हो । यहाँ बेलायतका राजा – रानी बस्छन्। दरबार र राजपरिवारको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरिएको हो । यद्यपि अहिले बेलायतका अन्य धेरै ठाउँहरू पनि नो फ्लाई जोन घोषित भएका छन् जसमा १० डाउनिङ स्ट्रिट, संसद भवन तथा बेलायतका प्रधानमन्त्रीको आधिकारिक निवास समावेश छ ।

बार्सिलोनाको गावा स्थित इलाका : बार्सिलोनाको गाभामा रहेको क्षेत्रलाई वातावरणीय हिसाबले नो फ्लाई जोन घोषणा गरिएको छ । यहाँ वनस्पति तथा जीवजन्तु दुर्लभ छन् । यसैलाई ध्यानमा राखेर सरकारले त्यहाँको हावा प्रदूषित नहोस् भनेर यसलाई नो फ्लाई जोन घोषित गरेको हो । यो क्षेत्रमा स्टार फुटबलर लियोनल मेस्सीको घर पनि छ ।

यस सबै बाहेक विश्वका धेरै ठाउँमा अस्थायी रूपमा नो फ्लाई जोनको नियम लगाइएको छ । नो फ्लाई जोन भन्नाले कुनै पनि प्रकारको हवाईजहाज, उडान, प्लेन, फाइटर प्लेन, हेलिकप्टरको उडान निषेधित क्षेत्रलाई जनाउँछ । यस्तो निर्णय सुरक्षालाई ध्यानमा राखेर लिइन्छ ।

प्रतिक्रिया