बिहीबार, असार १२, २०८२

केन्द्रीय समितिलाई केन्द्रमा राखेर कोइराला समूहले थाल्यो छलफल

नेपालखोज २०७९ माघ ८ गते १०:४०

काठमाडौं । यही माघ १५ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक र त्यसका एजेण्डलाई केन्द्रमा राखेर कांग्रेस नेता वरिष्ठ डा. शेखर कोइरालाले छलफल सुरु गरेको छ । साे समूहको बैठक काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा चलिरहेको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल गरिने जनाइएको छ । छलफलमा सो समूहमा रहेका कांग्रेस केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र प्रदेश सभापतिहरू सहभागी छन् । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आइतबार बिहान ८ बजेदेखि छलफल सुरु भएको हो ।

१४ औंँ महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार भई निर्वाचित भएका पदाधिकारी, उम्मेदवारहरू, केन्द्रीय सदस्यहरू, प्रतिनिधिसभा सांसदहरू र प्रदेश सभापतिहरू भेलामा सहभागी छन् । नेता गुरूराज घिमिरेले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बिहान ८ बजेदेखि भेला गरिएको नेपालबहसलाई जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत पुष २६ मा विश्वासको मत दिएपति प्रतिपक्ष बेन्चमा बस्दै आएको कांग्रेसले प्रतिपक्षको मान्यता पाउने नपाउनेबारे पनि छलफल हुनेछ । कांग्रेसले प्रमुख प्रतिपक्षमै बस्ने गरी विश्वासको मत दिइएको बताउँदै आएको छ । यस्तै पार्टीका महत्वपूर्ण निर्णय लिनुपर्दा सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक नराखेको, चुनावी समीक्षा समयमै नगरेकोजस्ता विषय पनि समाबेश छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक यसअघि २ पटक स्थगित भइसकेको छ । । केन्द्रीय समितिमा प्रस्तुत हुँदा सामूहिक धारणासहित जानका लागि कोइराला पक्षले आन्तरिक छलफल थालेको हो । सत्ता गठबन्धन भाडिएपछि कांग्रेसमा विशेष र नीति महाधिवेशनको पनि माग भइरहेको छ ।

चुनावअघि माओवादी लगायतसँग गठबन्धन गर्न दवाव दिए पनि सभापति देउवाले चुनावपछि उक्त गठबन्धन जोगाउन नसकेकोमा संस्थापनइतर समूहका नेताहरूले आलोचनासहित सुधारका रणनीति बनाउने बताइएको छ ।

प्रतिक्रिया