‘पौडेलको सपना पूरा गर्ने जिम्मेवारी बाँचेकाको काँधमा’

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले विमान दुर्घटनामा निधन भएका पोखराका पत्रकार त्रिभुवन पौडेलका बाँकी सपना पूरा गर्ने दायित्व बाँचेकाहरूको काँधमा आएको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले आज स्व पौडेलको पोखरा-११ स्थित निवासमा आयोजना गरेको श्रद्धाञ्जलि सभामा उनले छोटो समय बाँचे पनि पौडेलले पत्रकारिता र समाजले सदा सम्झने काम गरेको बताए ।
उपाध्यक्ष महराले अकल्पनीय दुर्घटनामा पौडेलको निधनको खबरले आफूलाई धेरै दुःखित बनाएको बताए । उनले भने, ‘त्रिभुवनले मेरो प्रेस सल्लाहाकार भएर काम गरे । अहिले पनि काठमाडौं जाँदा सधैँ घरमा आउथे । छोराहरू, बुहारी सबैसँग राम्रो सम्बन्ध थियो, हामी एकै परिवारको सदस्य जस्ता भएका थियौँ । पत्रकारिता, राजनीतिक क्षेत्रलगायत विषयमा कुराकानी हुन्थ्यो । म आज नै घटनास्थलमा पुगेर आएँ । घटनाबाट म स्तब्ध छु ।’
उपाध्यक्ष महराले पौडेलका परिवारका लागि पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने र आफू सधैँ साथमा रहने बताउँदै यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गर्ने बताए । शोकसभामा माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङ, माओवादी केन्द्रका नेता झलकपाणि तिवारी, कास्की जिल्लाका इन्चार्ज राजकाजी गुरुङलगायतले स्व पौडेलको योगदानका बारेमा चर्चा गरेका थिए ।
यसैबीच उपाध्यक्ष महराले विमान दुर्घटनामा परिवारका तीन सदस्य गुमाएका पोखरा–४ निवासी मदनकाजी श्रेष्ठ र सञ्चारकर्मी अनिल शाहीको परिवारसँग पनि भेट गरेका थिए । श्रेष्ठका छोरा ३८ वर्षीय डा सुशील श्रेष्ठ, बुहारी डा शोना श्रेष्ठ र १५ महिनाको नातिको दुर्घटनामा निधन भएको थियो ।
यसैगरी सञ्चारकर्मी शाहीको दुर्घटनाको नौ दिनपछि आज पोखरामा अन्त्येष्टि गरिएको छ । स्व शाही पोखरा-१ बगरस्थित रेडियो एपोष्टलका प्रबन्ध निर्देशक थिए । माघे सङ्क्रान्तिको बिहान काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको विमान सेती नदी खोँचमा दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो । दुर्घटनामा परेका एक जना अझै फेला पर्न सकेका छैनन् ।

प्रतिक्रिया