सिँचाइ कुलो निर्माणले किसान खुसी

नेपालखोज २०७९ माघ १० गते १७:१७

दिपायल . दपायल–बडीकेदार गाउँपालिका–५ धमिगाउँमा चिम्टे सिँचाइ कुलो निर्माण भएपछि किसान खुसी भएका छन् । वर्षौंदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझै रहेकामा अहिले कुलोबाट पानी आउन थालेपछि यहाँका किसान खुसी भएका हुन् । सिंचाइको अभावमा आकाशे पानीको भरमा किसानले खेती गर्दै आएका थिए ।

धामिगाउँवासीले पहिलो पटक सुविधा पाएपछि सिँचाइको उपयोग गर्न थालेका छन् । गाउँपालिकाको आर्थिक सहयोगमा करिब एक सय २० मिटर लामो सिँचाइ कुलो निर्माण गरिएको स्थानीयवासी बमबहादुर चन्दले जानकारी दिए । उनका अनुसार गाउँपालिकाबाट सिँचाइ कुलो निर्माण गर्न करिब रु दुई लाख लगानी भएको थियो ।

सिँचाइ कुलो निर्माण भएपछि करिब नौ सय रोपनी जमिनमा सिँचाइ सुविधा पुगेकाले उत्पादनसमेत वृद्धि हुने अर्का स्थानीयवासी पदम चिमालाले बताउनुभयो । यसबाट करिब दुई सय घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष हर्क नेपालीको भनाइ थियो ।

‘वर्षैंदेखि बाँजो रहेको जमिनमा खेती लगाउन सहज हुने भएको छ,’ उनले भने, ‘यस क्षेत्रका किसानले थप बाध निर्माण र सिँचाइ कुलोलाई पक्की गराउन थप बजेटमाग गरेका छन्।’ गाउँपालिकाले जनताका आवश्यक माग सम्बोधन गरिरहेको गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए ।

पालिकाबाट हरेका वडाका नागरिकको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाइ, कृषिलगायत क्षेत्रमा आवश्यक योजना बनाइने र सबै क्षेत्रका समस्या समधान गर्न स्थानीय सरकारको निर्माण भएको अध्यक्ष साउदले बताए । पालिकाभित्र रहेको खेतीयोग्य जमिनमा किसानलाई अनुदान कार्यक्रममार्फत विभिन्न योजना बानई आत्मार्निभर बनाइने गाउँपालिकाले जनाएको छ । -रासस

प्रतिक्रिया