मंगलबार, वैशाख ११, २०८१

नारायणगढ-बुटवल सडक विस्तारमा न्यून प्रगति

नेपालखोज २०७९ माघ ११ गते १०:५१

नवलपुर । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्डको काम २३ प्रतिशतमात्रै पूरा भएको छ । गत असारमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम ४८ महिना पूरा हुँदा पनि प्रगति न्यून छ ।

चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेड’का टिम लिडर क्वाङसिक पार्कका अनुसार कोभिड-१९, रुख कटान, बिजुलीका पोल, उपकरण परिचालनलगायतमा ढिलाइ हुँदा सडक विस्तारको काममा ढिलाइ भएको हो । ‘सुरुआती अवस्थामा उपकरण परिचालन, रुख कटानमा निकुञ्ज र वनबाट स्वीकृति आउन ढिलाइ, बिलुजीको पोल सार्न ढिलाइ भयो’, उनले भने, ‘जिल्लाका क्रसर उद्योग बन्द हुँदा सडक विस्तारको काम प्रभावित बनेको छ ।’ निर्माण कम्पनीले राम्रोसँग काम गर्न नपाउँदा सडक विस्तारको काममा ढिलाइ भइरहेको पार्कले बताए ।

क्रसर उद्योग बन्द हुँदा निर्माण सामग्रीको अभाव भएको छ । सडक विस्तारको काम सक्नुपर्ने समय सीमाभित्र अझै पनि सडकको अवरोध नहटेको निर्माण पक्षको भनाइ छ । ‘अहिलेसम्म रुख कटानको काम ९९ प्रतिशतमात्रै सकिएको छ’, पार्कले भने, ‘विद्युत् पोल सार्ने काम ३० प्रतिशतमात्रै पूरा भएको छ, सडक विस्तारमा समस्या भएको छ ।’

निर्माण कम्पनीका नेपालस्थित प्रतिनिधि सु यानले आयोजनाको म्याद करिब एक वर्ष थप भएको भन्दै त्यो समयसम्म ५० प्रतिशत प्रगति हासिल गरिने बताए । ‘यहाँका जनताको गुनासो र पीडाबारे हामी अवगत छौँ, हामीले कामलाई तीव्रता दिएका छौँ’, यानले भने । हालसम्म नारायणगढ-बुटवल सडकको प्याकेज-१ मा २२ प्रतिशत र प्याकेज-२ मा २३ प्रतिशत काम भएको छ । गैँडाकोटमा एक सय १० मिटर परीक्षण कालोपत्र तथा विभिन्न ठाउँमा ठूला तथा साना पुल निर्माणलाई तीव्रता दिइएको छ ।

नारायणगढ-बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इञ्जीनियर रमेश दिष्टीले निर्माण कम्पनीलाई काम चाँडो गर्न निरन्तर ताकेता गरिरहेको बताए । ‘समयमा काम सक्नका लागि कामदार थप्नुपर्ने, यान्त्रिक उपकरण बढाउनुपर्ने भएकाले हामीले त्यसैअनुरुप दबाब दिँदै आएका छौँ’, उनले भने । अहिले गैँडाकोटबाट डण्डासम्म सडक विस्तारको काम भइरहेको छ । सडकको मापदण्डभित्र पर्ने संरचना हटाउने तथा रुख काट्ने काम सकिन लागेको छ ।

दुई प्याकेजमा निर्माण भइरहेको एक सय १४ किलोमिटर लामो नारायणगढ-बुटवल सडकखण्डको प्याकेज-१ मा ६५ तथा प्याकेज-२ मा ४९ किलोमिटर सडक पर्दछ । प्याकेज-१ को लागत नौ अर्ब १५ करोड ७२ लाख रुपैयाँ तथा प्याकेज-२ को लागत रु सात अर्ब ८६ करोड ३२ लाख छ । एसियाली विकास बैंक (एडिबी) को ८५ प्रतिशत ऋण सहयोगमा सडक विस्तार भइरहेको आयोजनाले जनाएको छ । -रासस

प्रतिक्रिया