शुक्रबार, वैशाख ७, २०८१

डा. खगराज बरालकाे ‘ए गङ्गा’ सार्वजनिक

नेपालखोज २०७९ माघ १३ गते १३:५८

काठमाडाैं । पुर्खाहरूप्रति समर्पित डा. खगराज बराल (श्रमिक बराल) को शब्द रहेको ‘ए गङ्गा’ गीत राजनराज बरालको सङ्गीत तथा स्वरमा सार्वजनिक भएको छ ।

आमालाई गङ्गाको बिम्ब बनाएर रचना गरिएको यो गीत रचना काल भन्दा झन्डै चौध वर्षपछि रेकर्ड भएको छ । शास्त्रीय स्वाद दिने यो गीतको शब्द रचनाका सम्बन्धमा गीतकार बराल ‘गङ्गालाई नदीको प्रतीक र गङ्गा नदीलाई आमाको प्रतीक मानेर लेखिएको’ भन्छन् । यस गीतमा महाभारतकालीन मिथकको पनि प्रयोग भएको छ । महाभारतको कथामा पनि देवव्रत (भीष्म) गङ्गाका पुत्र भएका र भीष्मले आफूँले कठिन निर्णय गर्नु परेको समय र कुनै विषयमा द्विविधा भएका अवस्थामा गङ्गाका किनारामा गएर आफ्नी आमा गङ्गालाई पुकारा गरेको प्रसङ्ग छ । गीतकार बरालले गङ्गामा समाहित भएका आफ्ना पुर्खालाई सम्झदै जीवनमा कठिन निर्णय लिनुपर्दा र द्विविधा हुँदा सम्झने गरेका सन्दर्भमा यो गीत सिर्जना भएको कुरा उल्लेख गरेका छन्

गङ्गा नदीलाई भारतीय उपमहादिपमा पवित्र नदीका रूपमा लिइन्छ । पौराणिक मिथकमा गङ्गा नदीको प्रसङ्ग आउँछ । गङ्गालाई दिलिप राजाका छोरा भगीरथले महादेवको वरदान पाई पृथ्वीमा ल्याएको कथा पुराणमा वर्णन गरिएको पाइन्छ । गङ्गालाई भागीरथी पनि भनिन्छ । त्यसैकारण पनि होला, जनसाधारणको बोलीमा सबै नदीहरूलाई गङ्गा भन्ने चलन पनि छ ।

वास्तवमा गङ्गा सबै प्राणीकी जननी हुन् । भारतीय उपमहादिपमा गङ्गालाई आमा कै रूपमा पुकारिन्छ । गण्डक क्षेत्रमा गङ्गालाई गण्डकी पनि भनिन्छ । पुर्खाहरूलाई एकपटक सँगै आउन गङ्गालाई आह्वान गरिएको यो गीत हरेक व्यक्तिका जीवनसँग मिल्दो छ, सान्दर्भिक पनि छ । यो गीतमा गङ्गालाई काली गङ्गा, सेती गङ्गा, भागीरथी जस्ता शब्दद्वारा सम्बोधन गरिएको छ ।

डा. खगराज बराल (श्रमिक बराल) का शब्दमा आमा र पुर्खाप्रति समर्पित ‘ए गङ्गा’ गीतमा सङ्गीत तथा स्वर राजनराज बरालको छ । यस गीतको सङ्गीत संयोजन मनोहर सुनामले गरेका छन् । साउन्ड डिजाइन स्टुडियो नक्सालमा रेकडिङ गरिएको यो गीतका रेकडिस भोला पौडेल हुन् । यस गीतमा भुवन गन्धर्वले तबलामा, गोपालदेवले बाँसुरीमा, मनोहर सुनामले गितारमा साथ दिएका छन् । बलराम अधिकारी (बाले काका)को अभिनय रहेको र राग भुपालीमा गाइएको यो गीत कहरवा तालमा रहेको छ ।

प्रतिक्रिया