अनमोल अभिनित फिल्म ‘छड्के २’को टिजर सार्वजनिक

काठमाडौं । अनमोल केसी स्टारर ग्याङस्टर ड्रामा फिल्म ‘छड्के २.०’को अफिसियल टिजर सार्वजनिक भएको छ । एक मिनेट ४५ सेकेण्ड लामो टिजर एक्सनप्रधान लाग्छ । फिल्मको केन्द्रीय कथावस्तु र द्वन्द्वलाई टिजरले राम्रोसँग स्थापित गर्न सकेको छ । टिजरले पात्र चित्रण पनि खुलाएको छ ।
समग्रमा यो रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको लडाइँको कथा हो । ‘हाम्रो बारीको स्याउ हामीले पनि बेच्न पाउनुपर्छ । हाम्रो डाँडाको यार्सा हामीले पनि टिप्न पाउनुपर्छ,’ भन्ने एक पात्रको अभिव्यक्तिले समग्र फिल्मको कथावस्तुलाई दर्शाएको छ ।
रविन तामाङ साम्तेन, निगम श्रेष्ठ खजुरे, रेशा आले मगर यांकीको चरित्रमा देखिएका छन् । निर्देशक समेत रहेका श्रेष्ठ पनि फिल्मको प्रमुख चरित्रमा देखिएका छन् । दश वर्षअघिको फिल्म ‘छड्के’को सिक्वेलको रुपमा यो निर्माण भएपनि कथावस्तु चाहिं भिन्न देखिन्छ ।
‘छड्के २.०’ आगामी फागुन १९ गते रिलिज हुँदैछ । प्रशान्त गिरी र देवकुमार श्रेष्ठले फिल्म निर्माण गरेका हुन् । निर्वाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा फिल्म बनेको हो ।

प्रतिक्रिया