शुक्रबार, वैशाख १४, २०८१

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

नेपालखोज २०७९ माघ १५ गते २०:३५

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि शुक्रबार बाध्य भएर राजीनामा दिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने आइतबार दिउँसो नागरिकता पुनः प्राप्त गर्नासाथ पार्टी सभापतिमा पुनर्बहाली भए ।

त्यसलगत्तै उनी प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगे । रवि बालुवाटार पुग्दा त्यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगिसकेका थिए । केपी ओली बाहिरिएपछि प्रधानमन्त्री र रवि लामिछानेबीच भेट भएको हो ।

उच्चस्तरीय स्रोतका अनुसार आफूलाई पुनः गृहमन्त्री बनाउन माग गर्दै लामिछाने बालुवाटार गएका हुन् । लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीमा पुनर्बहाली गर्न एमाले अध्यक्ष ओलीले पनि प्रधानमन्त्रीलाई दबाव दिएका छन् ।

लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार पार्टीले आज गरेको निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी दिन उनी बालुवाटार पुगेका हुन् ।

आजै बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले लामिछानेलाई सभापतिमा पुनः नियुक्ति गर्नुका साथै उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा दाबी गर्ने निर्णय गरेको थियो । यही दाबी गर्नका लागि लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेका हुन् ।

प्रतिक्रिया