शुक्रबार, चैत १६, २०८०

हिरासतबाटै थुनुवा फरार भएपछि धनुषामा तीन प्रहरी निलम्बित !

नेपालखोज २०७९ माघ १७ गते ११:१८

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर सोमबार बिहान ६ जना थुनुवाहरू फरार भएका थिए । हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेसन टोली खटाएर खोजतलास तीव्र पारेपछि एक जनालाई नियन्त्रणमा लिएको हो ।

सर्च टोली फरार थुनुवामध्ये रोशन महतोलाई पक्राउ गर्न सफल भएको धनुषा प्रहरीले जनाएको छ । मिथिला नगरपालिका–६ का २८ वर्षीय महतोलाई सोमबार बेलुका पुनः पक्राउ गरिएको हो । उनीमाथि हातहतियार खरखजाना मुद्दा चलिरहेको छ । महतोलाई हतियारसहित गत शनिबार मात्रै पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो ।

महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी हिरासतबाट फरार अन्य पाँचजनाको खोजी भइरहेको प्रहरी प्रहरीले जनाएको छ । हिरासतबाट ६ जना थुनुवा एकैसाथ फरार भएपछि राती ड्युटीमा रहेका इलाका प्रहरी कार्यालयका तीन जना प्रहरी जवानलाई निलम्बन गरिएको छ भने घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन् ।

लागूऔषध, हातहतियार, अभद्र व्यवहारका सातजना थुनुवामध्ये ६ जना थुनुवा हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका थिए । पुरानो भवनमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोरेर बिहान ३ बजे थुनुवाहरू फरार भएको घटनालाई लिएर त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको छ । इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको हो ।

घटनापछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रन्द्रनगरमा अहिले प्रहरी नायव निरीक्षक (सई) मुक्तिनारायण यादवलाई जिम्मेवारीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया