भारतीय कम्पनी सेभेन थ्रीले बक्यौता नबुझाए कानूनी प्रक्रियामा जाने क्यानकाे तयारी

काठमाडौं । नेपाल टी–२० लिगका लागि व्यापारिक र रणनीतिक साझेदारी सम्झौता एकतर्फी रद्द गर्ने भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसविरुद्ध नेपाल क्रिकेट संघ (क्यान)ले कानूनी प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।
सेभेन थ्रीले मंगलबार क्यान र राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई चिठ्ठी पठाएर सम्झौता रद्द गरेको जनाएको थियो । क्यानलाई बाँकी रकम नदिनका लागि सेभेन थ्रीले मुद्दा हाल्ने धम्कीपूर्ण नौटंकी गरेको क्यानको भनाइ छ ।
गत फागुनमा क्यानले सेभेन थ्रीसँग नेपाल टी–२० को ८ संस्करणका लागि सम्झौता गरेको थियो । सम्झौता रद्दपछि सेभेन थ्रीसँग क्यानले ३३ करोड रुपैयाँ लिनुपर्नेछ । पहिलो संस्करणबापतको ३ करोड ९० लाखमध्ये अहिलेसम्म २ करोड २० लाख रुपैयाँ जम्मा गरेको क्यानले जनाएको छ ।
सम्झौता अनुासार प्रतियोगिताको कुल पुरस्कार राशी १ करोड २५ लाख रुपैयाँ हो । प्लेयर अफ द म्याचसहित प्रतियोगिताको पुरस्कार रकम पनि सेभेन थ्रीले नै दिनुपर्ने सम्झौता छ ।
मंगलबार सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालियाले टेलिफोन सम्पर्क गरी छलफल गर्न समय मागेको क्यानले जनाएको छ । क्यानले पाउनुपर्ने सबै रकम पाएपछि मात्र कुराकानी गर्ने जवाफ दिएको क्यान स्रोतले बतायो । सेभे थ्रीले रद्द गरेको सम्झौताबारे निर्णय क्यानको आगामी फागुनमा बस्ने साधारणसभाले लिने निर्णय मंगलबार पोखरामा सम्पन्न बोर्ड बैठकले गरेको छ ।
क्यान लिग प्रतियोगिताको मुख्य साझेदार कम्पनी सेभेन थ्री नै लाइभ बेटिङ र स्पट फिक्सिङमा संग्लग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सार्वजनिक गरिसकेको छ । सेभेन थ्रीका मालिक जतिन र सीईओ अभिशेक सक्लानी प्रहरीको फरार सूचीमा छन् । सोही आरोपमा नेपाली क्रिकेटर मेहबुब आलम र मोहम्मद आदिल अन्सारीलाई सीआईबीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
फिक्सिङमा क्यानका पदाधिकारीहरुको निर्णय मुख्य जिम्मेवार रहेको भन्दै अध्यक्ष चतुरबहादुर चन्द लगायत कार्यसम्पादन समितिका पाँचै जनाले राजीनामा दिनुपने माग पोखराको बैठकमा उठेका थिए । त्यसमा सचिव विक्रम मल्लले मात्र राजीनामा दिएका छन् । उनको जिम्मेवारी दुर्गा पाठकलाई दिइएको छ । सेभेन थ्रीलाइ लिगकाे ठेक्का सम्झाैता गरेदेखि नै विवाद सुरू भएकाे थियाे ।
प्रतिक्रिया