बिहीबार, वैशाख ६, २०८१

पत्रकार महासंघ र नेत्रज्योति संघबीच सम्झौता

नेपालखोज २०७९ माघ १८ गते २२:११

काठमाडौं । नेपाल पत्रकार महासंघ र नेपाल नेत्रज्योति संघ बीच पत्रकारको आँखा सम्बन्धी स्वास्थ्य उपचार गर्नका लागि सम्झौता भएको छ । बुधबार नेपाल पत्रकार महासंघमा भएको एक कार्यक्रमका बीच दुवै संस्थाका पदाधिकारीको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रविधिको विकाससंगै लामो समय कम्प्युटर लगायतका उपकरणको प्रयोगले पत्रकारहरुमा आँखाको स्वास्थ्य समस्या देखिन थालेको बताए । उनले दुई संस्थाबीचको सम्झौताले देशभरिका पत्रकार लाभवान्वित हुने बताए ।

नेपाल नेत्रज्योति संघ नेपालका अध्यक्ष प्रा.डा. चेतराज पन्तले जनचेतनाको अभावले आँखासम्बन्धि समस्या भएका बिरामीहरुले उपचार पाउन नसकेको बताए । उनले निको हुने आँखाका रोगीको समेत उपचार हुनसकेको भन्दै त्यसको निराकरण गर्न संस्था लागेको बताए ।

सम्झौतापत्रमा उल्लेख भएअनुसार महासंघको सवन्वयमा ६ वटा प्रदेशमा फागुनभित्र र दुबै संस्थाको स्थापना दिवसको छेको पारेर चैत महिनामा काठमाडौं उपत्यकामा रहेका पत्रकारका लागि निशुल्क आँखा शिविर आयोजना गर्ने उल्लेख छ । शिविरमा पत्रकारका लागि आवश्यक चश्मासमेत निशुल्क उपलब्ध गराईने जनाइएको छ ।

सम्झौतापत्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल र नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा.चेतराज पन्तले हस्ताक्षर गरेका छन् । २०३५ सालमा स्थापना भएको गैरनाफामुलक संस्था नेपाल नेत्रज्योति संघ नेपालको आँखा स्वास्थ्यको क्षेत्रमा स्थापित संघका ४४ वटा जिल्ला शाखा, २७ वटा आँखा अस्पताल र १५० वटा आँखा उपचार केन्द्र रहेका छन् ।

प्रतिक्रिया