सयौं अफगानी ११ देश पार गर्दै अमेरिका पुग्छन्

अफगानिस्तानको तालिबानी शासनबाट बाहिर निस्कन लाखौं मानिस विभिन्न उपाय खोजिरहेका छन् । यस क्रममा ल्याटिन अमेरिका हुँदै पैदलै ११ देश छिचोलेर सयौं अफगानी अवैध रूपमा अमेरिका पुगेका छन् । अफगानिस्तानका जनताका लागि तालिबान शासनबाट उम्कने यो अन्तिम माध्यम हो । उनीहरूको यात्रा ब्राजिलको मानवीय भिसाबाट सुरु हुन्छ ।
ल्याटिन अमेरिकाका ११ देश हुँदै अमेरिकाको सिमानामा पुगेर त्यहाँको पर्खाल हाम फालि अमेरिकी भूमिमा टेके पछि उनिहरुको यात्रा टुंगिन्छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको एक वर्ष बितिसक्दा अमेरिका-मेक्सिको सीमा पार गरेर अमेरिकामा शरण लिन खोज्ने अफगानीहरूको संख्या पनि बढेको छ ।
अपहरण, चोरी र आक्रमणका लागि कुख्यात बाटो भएर हरेक महिना सयौं अफगानि आफ्नो ज्यान जोखिममा राखेर त्यहाँ पुग्ने प्रयास गरिरहेका छन् । अमेरिकाको सरकारी तथ्याङ्कका अनुसार सीमा अधिकारीहरूले गत वर्ष २ हजार १ सय ३२ जना अफगानीलाई हिरासतमा लिएका थिए।
शरणार्थीहरूलाई सहायताको अभाव
यो एक वर्षमा यसरी पक्राउ परेका अफगानीहरूको संख्यामा ३० गुणा वृद्धि हो। ती मध्ये आधा नोभेम्बर र डिसेम्बर २०२२ मा मात्रै अमेरिका पुगेका थिए। रोयटर्सले यात्रा पूरा गरेका एक दर्जन अफगानि सँग कुरा गरेको थियोे । तीमध्ये ११ जनाले आफू अमेरिका पुग्न सफल भएको बताएका छन् ।
ब्राजिलबाट उनीहरु स्थलमार्ग हुँदै अमेरिका गएको बताइन्छ । शरणार्थी सम्बन्धि काम गर्ने गैर सरकारि निकाय तथा पूर्व अमेरिकी अधिकारीहरूले अफगानीहरूको यस्तो पलायन अफगानिस्तान भित्रको मानवीय संकट सम्बोधन हुननसक्नुको परिणाम भएको बताएका छन् ।
यसले अफगानिस्तान छोड्नेहरूलाई सहयोगको अभाव पनि देखाउँछ। अमेरिकामा भिसाको काम सुस्त गतिमा अघि बढिरहेको भन्दै अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायसँगको सहकार्यमा अफगान शरणार्थीलाई सहयोग गर्नुपर्ने सम्बद्ध पक्षको धारणा छ ।
ब्राजिलमा शरणार्थीहरूको दबाब
अमेरिकी विदेश मन्त्रालयले “विगत दुई दशकदेखि अमेरिकासँग काँधमा काँध राखेर उभिएका साहसी अफगानीहरू” को भिसा प्रक्रियालाई तीव्र पार्ने प्रयास गरेको बताएको छ। मन्त्रालयले “अनियमित आप्रवासन” रोक्न अन्य देशका सरकारहरूलाई सहयोगको प्रस्ताव समेत गरेको छ । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार ब्राजिलको मानवीय भिसा कार्यक्रम “अत्यन्त महत्त्वपूर्ण योगदान” हो तर ब्राजिल पहिले देखि नै शरणार्थीहरूले भरिएको छ ।
यो कार्यक्रमले दुई वर्षको निवास र काम गर्ने, अध्ययन गर्ने र शरणार्थी स्थितिका लागि आवेदन गर्ने अवसर प्रदान गर्दछ। अमेरिकी विदेश मन्त्रालयले यो कार्यक्रम सेप्टेम्बर २०२१ मा सुरु भएको र त्यसयता करिब ४,००० अफगानी मानवीय भिसामा ब्राजिल प्रवेश गरेको बताएको छ । गत वर्ष, २,२०० अफगानिले कोलम्बिया र पानामा बीचको जंगल क्षेत्र ड्यारियन ग्याप पार गरे । यो अमेरिकी सीमासम्म जाने एक मात्र बाटो हो।
पनामा सरकारको तथ्याङ्क अनुसार २०२१ मा २४ जना अफगानिले मात्र यो बाटो लिएका थिए । तालिबान प्रशासनका प्रवक्ताले अफगानिहरुको बढ्दो पलायनमा टिप्पणी गर्न गरिएको अनुरोधको जवाफ दिएनन्। स्रोत : रोयटर्स
प्रतिक्रिया